३ वैशाख २०८२ बुधबार
image/svg+xml १४:३८ अपराह्न
राजनीति

रवीन्द्र लेख्छन्- गिरिजा नारायणहिटी भत्काएर विदेशी दरबार निर्माण गर्ने नेता

आज नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवस, कांग्रेस तथा गैरकांग्रेस नेताहरूले कोइरालालाई विभिन्न सन्दर्भमा स्मरण गरिरहेका छन्।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि कोइरालालाई सम्झेका छन्। तर, अलिक फरक ढङ्गले। उनले भनेका छन्, 'नारायणहिटी दरबार भत्काएर त्यसको ठाउँमा विदेशी दरबार निर्माण गर्ने नेता।'

कोइरालाको तस्बिर राखेर सामाजिक सञ्जाल फेसबूकमा लेखेका रवीन्द्रले भनेका छन्, 'कांग्रेसको 'बीपीपथ'को उचाइलाई 'जीपीपथ' मा झारेर 'प्रचण्डपथ' मा विलय गराउने नेता, राजासँगको चरम असन्तुष्टि र रिसको आवेगमा देशको दीर्घकालीन हितमै घात गर्ने नेता, राजासँगको रिसको सुरमा देशको पहिलो राष्ट्रपति बनाउने 'प्रचण्ड ललिपप'मा फसेका नेता।'

यस्तै उनले कोइराला बहूदलीय प्रजातन्त्रको जगलाई काण्डैकाण्ड, षड्यन्त्रै षड्यन्त्र, नातावाद/कृपावाद, असक्षमता, कुशासन र भ्रष्टाचारले ध्वस्त बनाइदिने नेता भएको समेत बताएका छन्।

उनले थप भनेका छन्, 'गाउँमा माओवादी आगो सल्किँदै गर्दा संसद्‌मा सांसद किनबेच, धमिजा/लाउडा काण्ड गर्ने, प्रशासनदेखि, न्यायलयदेखि, स्कूल र विश्वविद्यालयदेखि, समाजको हरेक पत्रलाई दलीयकरण गरेर समाजलाई सदाका लागि पतित बनाउने 'एकजना प्रमुख' नेता, सरकारी उद्योगहरूलाई संसारका अन्य देशमा पनि बेलाबखत निजीकरण गरिन्छ। तर, तिनलाई निजीकरण गर्दा ती सधैँ ध्वस्त/बन्द हुँदैनन्। तर, सङ्क्रमणको राम्रो योजना नै नबनाइ निजीकरणको नाममा अमूल्य राष्ट्रिय उद्योगहरू ध्वस्त पार्ने नेता।'

प्रकाशित: ७ चैत्र २०८१ १६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App