नेकपा (एकीकृत समाजवादी) ले 'रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन' आयोजना गर्न माग गरेको छ।
शुक्रबार (आज) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट लिखित धारणा सार्वजनिक गर्दै पार्टी महासचिव तथा केन्द्रीय बन्दोलन संयोजन समिति संयोजक घनश्याम भुसालले यस्तो प्रस्ताव गरेका हुन्।
'हाम्रो राजनीति र राज्यको आजको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन नै हो। तर, अहिलेसम्म राजनीति र राज्यका लागि यी मुद्दा प्राथमिक बनेनन्। जसले गर्दा मुलुकको भविष्य छ भन्ने विश्वाससमेत हराउँदै गएको छ र हामी सधैँभरी सङ्कटपूर्ण सङ्क्रमणमा अल्झिरहेको छौँ। राजनीतिक नालायकी, अस्थिरता र अन्योल बढ्दै गएको छ। मुलुकले लामो समय यो अवस्था वेग्न सक्दैन। यस अवस्थामा हाम्रो प्रस्ताव छ- मुलुकको राष्ट्रिय एजेण्डा बनाउन सरकारले यथाशीघ्र 'रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन' आयोजना गरोस्,' भुसालले प्रस्तावमा भनेका छन्।
उनले उक्त सम्मेलनमा सबै राजनीतिक पाटीहरूले गणतन्त्रको अभ्यासमा रहेका कमिकमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार ढिलासुस्तीरहित पारदशी राजनीतिक, न्यायिक तथा प्रसाशनिक व्यवस्थाका लागि आ-आफ्ना योजनाहरू पेस गर्ने बताएका छन्।
'त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नेछ। त्यस क्रममा कैयन् विषयमा राष्ट्रिय सहमति बन्न सक्छ,' उनले भनेका छन्, 'वा कम्तीमा पनि राष्ट्र निर्माणका लागि कुन दलको योजना के छ भन्नेबारे राष्ट्रिय बहस सुरु हुनेछ।'
प्रकाशित: १ चैत्र २०८१ १४:४६ शुक्रबार