४ वैशाख २०८२ बिहीबार
image/svg+xml ६:५५ पूर्वाह्न
राजनीति

जापानका राजदूतलाई राष्ट्रिय सभा अध्यक्षको आग्रह : जापानी पर्यटकलाई नेपाल आउन प्रेरित गरिदिनुहोस्

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले शिष्टाचार भेट गरेका छन् । नवनियुक्त राजदूत मायदाले सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमै पुगेर शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।

भेटमा अध्यक्ष दाहालले नेपाल(जापान सम्बन्ध निकै पुरानो र घनिष्ट रहेको चर्चा गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत र प्रगाढ हुने र त्यसमा राजदूत मायदाको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरे । जापान सरकारको तर्फबाट नेपालले बहुपक्षीय सहायता एवं प्राविधिक सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, औद्योगिक क्षेत्र, जलविद्युत, संस्कृति तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा नेपाल लाभान्वित भएको बताए ।

काठमाडौं-नागढुङ्गा सुरुङ मार्ग निर्माणसँगै नेपाल सुरुङ प्रविधितर्फ अघि बढेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुरुङ मार्ग लगायत अन्य सडक पूर्वाधार निर्माणमा जापानको सीप, प्रविधि र सहयोग प्राप्त भई गुणस्तरिय काम भइरहेकोमा खुसी व्यक्त गरे ।

नेपालको संघीय संसदमा नेपाल-जापान संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै उनले संसदीय मैत्री समूहले दुई देशबीचको संसदीय सम्बन्ध, अनुभव आदान प्रदान र भ्रमण आदानप्रदान गर्न सहज हुने बताए ।

उच्च शिक्षा र जापानी भाषा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थी जापानमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले अध्ययन, रोजगारी र व्यापार(व्यवसायको सिलसिलामा झण्डै २ लाख नेपालीहरु जापानमा रहेको बताए ।

जापानी पर्यटकहरुलाई नेपाल आउन प्रेरित गरिदिन आग्रह गर्दै अध्यक्ष दाहालले धार्मिक, सांस्कृतिक उद्देश्यसहित बुद्ध जन्मभूमि लुम्बिनीमा आउने जापानी पर्यटकहरुले दुई देशका जनताबीचको सम्बन्धलाई विस्तार गरिरहेको उल्लेख गरे ।

हाल काठमाडौं-जापान हवाइ उडान भएको बताउँदै अध्यक्ष दाहालले पोखरा र लुम्बिनीमा पनि जापानी एयरलाइन्सले सिधा उडान शुरु गर्न सके पर्यटकहरुको आवागमनमा वृद्धि विश्वास व्यक्त गरे ।

भेटमा राजदूत मायदाले आफूले जापान-नेपाल द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन निरन्तर लाग्ने प्रतिबद्धता जनाए । राजदूत तोरुले नेपाल र जापानबीच आगामी वर्ष सन् २०२६ मा कूटनीतिक सम्बन्धका ७० वर्ष पूरा हुने उल्लेख गर्दै आगामी दिनमा पनि दुई देशबीचमा सम्बन्ध झन प्रगाढ हुँदै जाने बताए । 

प्रकाशित: २० फाल्गुन २०८१ १७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App