राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजाले त्याग गर्न तयार छु भन्दा पनि एक ठाउँ उभिन नसक्नु दुर्भाग्य भएको बताएका छन्।
बिहीबार (आज) सामाजिक सञ्जाल फेसबूकमा उनले लेखेका छन्, 'राजा स्वयंले देशलाई संकटबाट मुक्त तुल्याउन म जुनसुकै त्याग गर्न तयार छु तथा मलाई साथ दिनुहोस् भनि आह्वान गरेको बेलामा पनि हामी राजावादी, हिन्दूवादी, राष्ट्रवादी भन्नेहरू एक ठाउँमा उभिन नसक्नु र एकढिक्का भएर राजालाई सहयोग गर्न तयार छौँ भन्न नसक्नु दुर्भाग्यपूर्ण छ।'
उनले थप प्रश्न गरेका छन्, 'हामी एक हुन सक्दैनौँ भने अरुलाई के भन्ने ?'
यसअघि पूर्वराजा ज्ञानेन्द्रले देश बचाउन आफूलाई साथ दिन आह्वान गरेका थिए। यसपछि राप्रपा र राप्रपा नेपाल दुबै जुर्मुरिएका त छन् तर, आफूहरू नै एक ठाउँ उभिन भने सकेका छैनन्। यही बेला राप्रपा नेपालका अध्यक्ष थापाले यस्तो बताएका हुन्।
प्रकाशित: १५ फाल्गुन २०८१ १९:२७ बिहीबार