नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि बढाएको हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान जनताको कुरा सुन्ने जनसंवाद अभियान भएको बताएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको झापा गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रुपमा मात्र नबुझन् आग्रह गरे । अभियानलाई सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको उनको भनाइ थियो ।
सहरी क्षेत्रका जनताको मनोविज्ञान विभिन्न माध्यमबाट थाहा हुने भए पनि देशको दक्षिण र ग्रामीण क्षेत्रमा बस्ने जनताको मनोविज्ञान कस्तो छ भनेर जान्न पनि यो अभियान महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे। देशको दक्षिण क्षेत्रमा बस्ने अधिकांश जनता आदिवासी र उत्पीडित समुदाय रहेको उल्लेख गर्दै उनले यो आफ्नो पार्टीले आफ्नै वर्ग समुदायमा फर्कन गरेको निर्णयको कार्यान्वयनको सुरुवात भएको बताए ।
अध्यक्ष दाहालले अभियानको क्रममा जनताबाट एकैदिन सयौं ज्ञापनपत्र प्राप्त भएको र अभियान अवधिभर जनताका हजारौं माग आउने देखिएकाले सबै मागपत्रको अध्ययन गरेर तत्काल गर्नुपर्ने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको योजनाबद्व पहल अघि बढाउने उल्लेख गरे ।
अब यसैले वैशाखमा मध्यपहाड र हिमाली क्षेत्रका जनता के चाहन्छन भनेर बुझ्न यसरी नै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने अध्यक्ष दाहालको भनाइ थियो ।
झापाबाट सुरु भएको पहिको दिनको कार्यक्रम निकै उत्साहजनक भएको उल्लेख गर्दै अध्यक्षले अब फेरि माओवादीप्रति जनतामा आकर्षण बढिरहेको र नेता कार्यकर्ताको आत्मविश्वास बढ्दै गएको बताए ।
झापा हिजो सामन्तवादको विरुद्ध बिद्रोहको केन्द्र रहेको र त्यतिबेलाको बिद्रोहको नेतृत्व गर्ने नेताहरु अहिले प्रतिक्रान्तिको हिस्सेदार बनेको प्रति झापाली जनताको ध्यानाकर्षण गराउन पनि यो अभियान महत्त्वपूर्ण भएको उनले स्पष्ट गरे ।
प्रकाशित: १२ फाल्गुन २०८१ १९:४८ सोमबार