नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकास मोडलमा गम्भीर त्रुटि रहेको बताएका छन्। शनिवार झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले हजारौँ सुकुम्वासीलाई नहेरी प्रधानमन्त्री ओलीले भ्यु टावर बनाइरहेको बताएका हुन्।
‘लोकतन्त्रमा शिक्षा, स्वास्थ्य र रोजगारी सरकारको प्राथमिकतामा हुनुपर्छ,’ पुनले भने, ‘प्रधानमन्त्री केपी ओलीले भ्यु टावरको अवधारणा ल्याएपछि हरेक वडा, पालिका, प्रदेश सबैतिर विकास भनेकै भ्यु टावर, देशको गौरव भनेकै भ्यु टावरजस्तो भएको छ । ओलीजीले दमकमा ठुलो भ्यु टावर ठड्याउनुभयो।’
प्रधानमन्त्री ओलीले भ्यु टावरलाई विकासको मोडल बनाएको उनले आरोप लगाए। उनले भने, ‘मैले पहिला सांसदमै भनेको छु, उहाँको विकासको मोडलमा गम्भीर त्रुटि छ ।’
ओलीले झापाको दमकमा अर्बौँ खर्चिएर भ्यु टावर बनाउँदा त्यस अपसासका ४ देखि पाँच हजार सुकुम्वासी हेरेको हेर्यै भएको पुनले दाबी गरे । ‘उहाँले ती सुकुम्वासीहरूको सुरक्षित आवास, खाना र रोजगारीको व्यवस्था गर्नुपर्छ भन्ने सोच्न नै सक्नुभएन,’ उनले भने।
प्रकाशित: १० फाल्गुन २०८१ १३:४५ शनिबार





