खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ४२ हजार ३१ किलो धान खरिद गरेको छ । कम्पनीले कात्तिक १२ देखि माघ २० गतेसम्मको अवधिमा देशभरका विभिन्न १० वटा केन्द्रमार्फत उक्त परिमाणमा धान खरिद गरेको हो ।
कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार निर्धारित कोटा पूरा भएपछि आठ वटा केन्द्रबाट धान खरिद कार्य बन्द गरिएको छ । धनगढी, महेन्द्रनगर, नेपालगन्ज, राजापुर, विराटनगर, भैरहवा, तुलसीपुर र बिर्तामोड केन्द्रमा लक्ष्यअनुसार धान खरिद भइसकेकाले हाललाई किन्न रोकिएको विभाग प्रमुख पौडेल बताउँछन् ।
कम्पनीले सबैभन्दा बढी कोटा तोकेको धनगढी, महेन्द्रनगर, नेपालगन्ज र राजापुर केन्द्रबाट लक्ष्यभन्दा बढी धान खरिद गरेको छ । धनगढीमा ३५ हजार क्विन्टल लक्ष्य रहेकोमा पछि कोटामा थप गरी ३८ हजार नौ सय ४८ क्विन्टल, महेन्द्रनगरमा पाँच हजार क्विन्टल कोटा रहेकोमा ६ हजार आठ सय ७६ क्विन्टल, नेपालगन्जमा मध्यम र मोटा गरी २० हजार क्विन्टल कोटा रहेकोमा २० हजार दुई सय ४४ क्विन्टल र राजापुरमा मोटा र मध्यम गरी ३० हजार क्विन्टल कोटा रहेकोमा ३० हजार दुई क्विन्टल धान खरिद भएको छ ।
विराटनगर केन्द्रमा १३ हजार कोटा रहेकोमा १२ हजार आठ सय ९४ क्विन्टल, बिर्तामोडमा आठ हजार क्विन्टल कोटा रहेकोमा सात हजार नौ सय ४६ क्विन्टल र जनकपुरमा बासमती र सोना मन्सुली धान गरी १५ हजार क्विन्टल कोटा रहेकोमा नौ हजार पाँच सय ९९ क्विन्टल धान खरिद भएको छ ।
यस्तै भैरहवामा पाँच हजार क्विन्टल कोटा रहेकोमा दुई हजार ४९ क्विन्टल, वीरगन्जमा १० हजार क्विन्टल कोटा रहेकोमा नौ हजार दुई सय ९७ क्विन्टल र तुलसीपुरमा पाँच हजार कोटा क्विन्टल रहेकोमा चार हजार एक सय ८३ क्विन्टल धान खरिद भएको कम्पनीले जनाएको छ ।
कम्पनीले जनकपुर र वीरगन्जबाट धान खरिद गरिरहेको छ भने लहान, जुम्ला र पोखरामा अझै धान खरिद प्रक्रिया सुरु हुन सकेको छैन । कम्पनीले यस वर्ष धान खरिदका लागि १३ केन्द्र निर्धारण गरेको छ । कम्पनीले देशभरबाट कुल एक लाख ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
कम्पनीका खरिद विभाग प्रमुख पौडेलका अनुसार कोटा निर्धारण नभएका खरिद केन्द्रबाट धान खरिद भइरहेको छ । लहान केन्द्रबाट धान खरिद हुन नसकेको बताउँदै पौडेलले धान खरिदको कोटा कम भएकाले कोटा थप्न माग आएको तर थप गर्न नसकिएकाले लहान केन्द्रमा धान खरिद प्रक्रिया सुरु हुन नसकेको बताए ।
खरिद समितिको बैठकले गत वर्षको जति कोटा निर्धारण गरेपछि धान खरिद कोटा बढाउन नसकिएकाले लहानमा प्रक्रिया रोकिएको पौडेल बताउँछन् । जेनजी आन्दोलनले गर्दा गोदाम र बोरामा क्षति पुगेकाले गर्दा पनि धान खरिद गर्न नसकिएको उनको भनाइ छ ।
जुम्लामा मार्सी र पोखरामा जेठोबुढो (उन्नत जात) धान खरिद गर्ने योजना रहे पनि ती धान पाउन समस्या भएपछि खरिद प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ ।
सरकारले यो वर्ष मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ र मोटो धानको मूल्य तीन हजार ४६३ रुपैयाँ तोकेको छ ।
प्रकाशित: २१ माघ २०८२ १८:५३ बुधबार





