४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

ज्ञानेन्द्र शाहीमाथि झुटको राजनीति गरेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला प्रतिनिधिसभा उम्मेदवार बिनिता कठायतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले चुनाव जित्न मतदातालाई भ्रमित पार्ने नियोजित दुष्प्रचार गरेको आरोप लगाएकी छन्।

बुधबार बिहान जुम्लाको सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा कठायतले शाहीले ‘हलो र घण्टी एउटै चिन्ह हुन्’ भन्दै गाउँ–गाउँमा गलत सूचना फैलाइरहेको बताइन्। प्रत्यक्षतर्फ हलोमा र समानुपातिकतर्फ घण्टीमा भोट हाल्नुपर्छ भन्ने अभिव्यक्ति सामान्य गल्ती नभई योजनाबद्ध झुट भएको उनको दाबी छ।

‘यो मतदाता ठग्ने दुस्साहस हो,’ कठायतले भनिन्, ‘ज्ञानेन्द्र शाहीले झुटको सबै सीमा नाघेका छन्। राजनीति सेवा हो, छलकपट होइन।’

उनले गलत सूचना फैलाएर जनताको मत अपहरण गर्न खोजिएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिइन्।

त्यस्तै, झापाबाट उम्मेदवार बनेका बालेन साहलाई जुम्ला आउन नदिएको भन्ने शाहीको अभिव्यक्तिलाई कठायतले ‘हावादारी र लज्जास्पद झुट’को संज्ञा दिइन्। उनका अनुसार बालेनसँग आएका पत्रकारको स्वास्थ्यमा समस्या आएपछि उनीहरू फर्किन बाध्य भएका थिए।

‘आफ्नो असफलता ढाकछोप गर्न अरूको नाम बेच्नु राजनीतिक पतनको स्पष्ट उदाहरण हो,’ उनले भनिन्।

शाही सांसद हुँदा जुम्लाका लागि के योगदान गरे भन्ने प्रश्न उठाउँदै कठायतले गाली, हल्ला र उत्तेजनाले विकास नआउने बताइन्। ‘काम गरेर देखाउनुपर्छ। सांसद भएर जुम्लाका लागि के गरे ? जनताले जवाफ खोजिरहेका छन्,’ उनले भनिन्।

कठायतले शाहीले अघिल्लो समय रास्वपाबाट टिकट माग्दै सुर्खेतबाट चुनाव लड्ने भन्दै लबिङ गरेको तथ्यसमेत सार्वजनिक गरिन्। ‘हिजो रास्वपाको ढोका ढकढक्याउने व्यक्ति आज रास्वपामाथि झुटो प्रचार गरिरहेका छन्। यो राजनीतिक अवसरवादको नाङ्गो रूप हो,’ उनले भनिन्।

उनका अनुसार शाहीले जुम्ला आउनुभन्दा केही समयअघिसम्म पनि रास्वपाबाट उम्मेदवार बन्न प्रयास गरेका थिए। ‘मैले स्वयं पनि पार्टीमा आउन आग्रह गरेँ, तर पार्टीले पत्याएन,’ कठायतले खुलाइन्।

कठायतले शाहीलाई मतदातासामु सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिँदै भ्रम फैलाउने र चुनावी चिन्हलाई हतियार बनाउने काम तत्काल बन्द गर्न आग्रह गरिन्।

‘रास्वपाले संविधान मान्छ,’ उनले स्पष्ट पार्दै भनिन्, ‘अन्त्य भइसकेको राजतन्त्र बोकेर झुटलाई राजनीति बनाउने ज्ञानेन्द्र बहादुर शाहीसँग कुनै पनि प्रकारको गठबन्धन सम्भव छैन।’

प्रकाशित: २१ माघ २०८२ १८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App