भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको निधनप्रति राष्ट्रिय सभाले दुःख व्यक्त गरेको छ।
मंगलबार सभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मृतक लम्साललाई न्याय दिन तर्फबाट यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका हुन्।
प्रकृति लम्सालको रहस्यमय निधनको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस विषयमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको जानकारी समेत गराए।
उनले भने, ‘माननीय सदस्यहरू। सभाको आजको बैकठमा आकस्मिक समयमा माननीय सदस्यहरूले उठाउनुभएको भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय निधनको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको छ। यस विषयमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’
उनले सो क्याम्पसमा अध्ययनरत नेपाली छात्राछात्रले सुरक्षित वातावरणमा निर्भिकताकासाथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह पनि गरेका छन्।
प्रकाशित: ६ फाल्गुन २०८१ १२:३१ मंगलबार





