उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता आवश्यक पर्ने बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री सिंहले कुनै पनि विकसित देश एकैदिनमा नबनेको बताए । ‘रोम वाज नट बिल्ट इन अ डे’ भनेजस्तै अहिलेका विकसित अमेरिका, बेलायतसहितका देशहरु बन्न वर्षौ लागेको चर्चा गर्दै उनले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेको भन्दै चाहेजस्तो देश बनाउन केही समय लाग्ने र त्यसमा सबै नेपालीको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।
उनले अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन भनेर गलत भाष्य बनाइएको भन्दै प्रजातन्त्र प्राप्ति पछि सबै क्षेत्रमा ठुलो परिवर्तन भएको दाबी गरे । खासगरि युवापुस्तामा नेपालमा बसेर के हुन्छ भन्ने गलत भाष्य सृजना भएको भन्दै अहिले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवाहरुलाई आग्रह गरे । कडा मेहनत र परिक्षम बिना लक्ष्य प्राप्ति गर्न असम्भव रहेको भन्दै मन्त्री सिंहले अध्ययनमा लगनशिल हुन विद्यार्थीलाई सुझाव दिए । उनले देशमै अवसर भएको भन्दै त्यसको सदुपयोग गर्ने सोच विकास गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
कार्यक्रममा समाजसेवी अनुराधा कोइराला, कलाकार राजेश हमाल, राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, शिक्षाविद् बालचन्द्र देवकोटा र पत्रकार राजेन्द्र बानियाँलाई सम्मान गरिएको थियो ।
प्रकाशित: ५ फाल्गुन २०८१ १५:२२ सोमबार