राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभा नै वृद्धाश्रम भएपछि कसको के लाग्छ भन्दै टिप्पणी गरेका छन्।
सोमबार राति सामाजिक सञ्जालमा लेख्दै उनले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि यस्तो टिप्पणी गरेका हुन्। उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदबाट हुबहु फिर्ता गरिनुपर्ने माग गरेका छन्।
उनले लेखेका छन्, 'राष्ट्रिय सभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ? वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रिय सभामा भत्ता खान गएकाले कसैले पनि लाइक सेयर र सरकारले गरेका गलत गतिविधिहरूको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेका छन्। यो धर्तीका लागि केही दिनका पाहुना भएका बाजेहरूले आउने पुस्ताहरूको उज्वल भविष्य कहाली लाग्दो अन्धकार बनाइदिए।'
जीवनभरि स्वतन्त्रताका लागि लड्ने विश्वेश्वरप्रसाद कोइराला र जनताले लेख्न र बोल्न पाउनुपर्छ भन्दै त्रिशुलीमा हत्या गरिएका मदन भण्डारीको पाप यिनीहरूलाई लाग्ने समेत उनले बताएका छन्।
'श्रीपेच फुकालेर सडकमा गएका राजा त्रिभुवन र राणा शासनका विरुद्धमा लडेका सहिदहरूको यिनीहरूलाई पाप लाग्छ। बोल्न र लेख्न पाउनुपर्छ भन्दै बलिदान दिएका सहिदहरूको पाप लाग्छ। जीवनभरि स्वतन्त्रताका लागि लड्ने विश्वेश्वरप्रसाद कोइरालाको पाप लाग्छ। जनताले लेख्न र बोल्न पाउनुपर्छ भन्दै त्रिशुलीमा हत्या गरिएका मदन भण्डारीको यिनीहरूलाई पाप लाग्छ,' उनले भने।
आश्रम जान लागेका बाजेहरू थन्काउने र पार्टीका कार्यकर्ताहरूलाई मनाउने थलो राष्ट्रिय सभा बनेकोले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता भएको पनि उल्लेख गरेका छन्। उनले लेखेका लेखेका छन्। 'राष्ट्रिय सभाको कुनै औचित्य छैन। वृद्रा आश्रम जान लागेका बाजेहरू थन्काउने र पार्टीका कार्यकर्ताहरूलाई मनाउने थलो बन्यो राष्ट्रिय सभा। त्यसैले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता हो।'
राष्ट्रिय सभाले मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक सोमबार सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको हो। सरकारले २०८१ वैशाख ६ गते यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो।
प्रकाशित: २९ माघ २०८१ ०७:३५ मंगलबार