नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले साफ महिला च्याम्पियनसिप नेपाली फुटबलको ‘विश्वकप’ सरह रहेको भन्दै टोलीको सम्पूर्ण ध्यान उपाधि जित्नेमा केन्द्रित रहेको बताएका छन्।
भारतको गोवा सहरमा यसै मे २५ तारिखदेखि महिला साफ च्याम्पियनसिपका आठौं संस्करण आयोजना हुँदै छ। दबाब र अन्योलबिच तयारी गरे पनि नेपाली टोली पहिलोपल्ट साफमा च्याम्पियन बन्ने लक्ष्यमा छ। जहाँ नेपालसँग दुई स्टार खेलाडी पनि हुने छैनन्। तर मुख्य प्रशिक्षक न्यौपानेले लक्ष्य च्याम्पियन बन्नेमा केन्द्रित रहेको धारणा राखेका छन्। ‘साफ च्याम्पियनसिप नेपालका लागि निकै प्रतिष्ठित प्रतियोगिता हो। मेरा लागि त यो विश्वकपजस्तै हो,’ प्रशिक्षक न्यौपानेले भने,‘मैत्रीपूर्ण खेलमा हामी प्रयोग र एक्सपोजरमा जोड दिन्छौं । तर साफमा हामी उत्कृष्ट टोलीका साथ मैदान उत्रन्छौं । यहाँ हाम्रो एक मात्र उद्देश्य सुखद नतिजा निकाल्नु हुनेछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि तीन महिना निलम्बन गरेको छ। अर्ली इलेक्सन गर्न लागेको भन्दै राखेपले एन्फामाथि निलम्बन गरेको हो। त्यसैले यसपल्ट साफमा नेपाली महिला टोलीको सहभागितालाई अन्योलपूर्ण रूपमा हेरिएको छ। यद्यपि, राखेपका सदस्यसचिव रामचरित मेहताले नेपालको सहभागिता हुने स्पष्ट पार्दै सरकारले खेलाडीलाई खेल्न वञ्चित नगर्ने बताएका छन्। यसअघि पनि निलम्बनकै कारण नेपाली महिला टोलीले फिफा सिरिज खेल्न पाएको थिएन। एन्फाले भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली टोलीको प्रशिक्षणलाई निरन्तरता दिएको छ। नेपालको सहभागिता हुने आशा गरेको छ।
अन्योलपूर्ण अवस्थामा तयारी भइरहे पनि नेपाली टोलीका मुख्य प्रशिक्षकले उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको विश्वास व्यक्त गरे। पछिल्ला सात संस्करणमा नेपाल एकपल्ट पनि च्याम्पियन हुन सकेको छैन। यस्तो स्थितिमा नेपाली टोलीले आफ्ना प्रमुख खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ लाई सर्जरीका कारण गुमाउनुपर्नेछ। दक्षिण एसियाकै स्टार स्ट्राइकर साम्बा अहिले सर्जरीपछि रिकभर हुँदै छिन्। उनी एक वर्ष मैदानबाहिर नै रहनेछिन्। टोलीका मुख्य स्ट्राइकर सावित्रा र सविता रानाजस्ता महत्त्वपूर्ण खेलाडीको अनुपस्थितिलाई चुनौतीका रूपमा प्रशिक्षक न्यौपानेले स्वीकार गरेका छन्। ‘उनीहरू टोलीको ‘स्पाइनल कर्ड’ नै हुन्। तर, अन्य खेलाडीहरूका लागि यो आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पनि हो। यसमा उनीहरूले आफूलाई प्रमाणित गर्नेछन् भन्ने विश्वस्त छु,’ उनले भने।
सात संस्करणमध्ये नेपाल ६ पल्टको उपविजेता हो। यसको अर्थ नेपालले ६ वटा फाइनल हारेको छ। न्यौपानेले साफ च्याम्पियनसिपजस्तो प्रतिष्ठित प्रतियोगितामा नतिजा नै मुख्य प्राथमिकता रहेको धारणा राखे। प्रशिक्षणका क्रममा खेलाडीलाई मानसिक, शारीरिक र भावनात्मक रूपमा सबल बनाउन केन्द्रित रहेको उनले उल्लेख गरे। प्रशिक्षक न्यौपानेले मैत्रीपूर्ण खेलले नयाँ खेलाडीको परीक्षण र रणनीति निर्माणका लागि प्रयोग गरिने माध्यम हुने बताए तर त्यसको अवसर पाउन नसकेको उनको भनाइ छ। टोलीको सफलताका लागि आपसी एकता निकै महत्त्वपूर्ण हुने भन्दै खेलाडीहरूलाई एक ढिक्का बनाएर लैजानु आफ्नो मुख्य जिम्मेवारी रहेको
उनी बताउँछन्।
विवाद र खेल वातावरणका बारेमा बोल्दै प्रशिक्षक न्यौपानेले संस्था र सरकारबिचको आन्तरिक लडाइँको असर मैदानमा देखिन नहुने धारणा राखे। खेलाडीहरू देशको प्रतिनिधित्व गर्दै पदक जित्ने ठूलो सपना बोकेर मैदानमा उत्रने भएकाले उनीहरूका लागि शुद्ध र खेलमैत्री वातावरण निर्माण गरिदिन उनले सरकार र सरोकारावाला निकायसँग आग्रह गरेका छन्। ‘खेलाडी र प्रशिक्षकको भूमिकामा निकै भिन्नता हुँदो रहेछ,’ उनले भने
‘एउटा प्रशिक्षकको रूपमा हार र जित दुवैको जिम्मेवारी आफूले नै लिनुपर्छ। साम्बा र सबिता मेहनतकै कारण यो उचाइमा पुगेका हुन्। नयाँ खेलाडीहरूले पनि उनीहरूलाई उदाहरणका रूपमा लिएर यो अवसरलाई सदुपयोग गर्नुपर्छ।’
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन तर उनले आफ्नो मुख्य जिम्मेवारी र लक्ष्य नै उक्त ट्रफी नेपाल भित्र्याउनु रहेको स्पष्ट गरेका छन्। अहिले टोली सोही लक्ष्यप्राप्तिका लागि कडा प्रशिक्षणमा व्यस्त रहेको उनले बताए। नेपाल समूह ‘ए’ मा छ। गोवाको मार्गाउमा हुने यस च्याम्पियनसिपको यो समूहमा श्रीलंका र भुटान छन्। अर्को समूह ‘बी’ बंगलादेश, भारत र माल्दिभ्स छन्। भारत पाँचपल्टको च्याम्पियन हो भने बंगलादेशले दुईपल्ट दक्षिण एसियाली फुटबलको उपाधि उचालेको छ। बंगलादेशले पछिल्ला दुई संस्करणको उपाधि उचाल्दै आफूलाई यस क्षेत्रको सबैभन्दा ठूलो शक्तिका रूपमा प्रस्तुत गरेको छ। दुवैपल्ट नेपाल नै उपविजेता टोली हो तर यसपल्ट भने नेपाली टोली विजेता बन्ने संघारमा छ, त्यो पनि अन्योलपूर्ण सहभागिताबाट।
प्रकाशित: २६ वैशाख २०८३ ०६:३३ शनिबार





