जनता समाजवादी पार्टी (जसपा) नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले बिहीबार पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
पार्टी उपाध्यक्ष राजकिशोर यादव संयोजक रहेको कार्यदललले बुधबार अर्थसम्बन्धी अध्यादेशहरुबारे विज्ञसँग छलफल गरेसँगै प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
अध्यादेशको विषयवस्तु अध्ययन गरेर स्वीकृत वा अस्वीकृत गर्नेबारे सुझावसहित पार्टीलाई प्रतिवेदन बुझाउने संयोजक यादवले बताए। उनका अनुसार अध्यादेश अध्ययन प्रतिवेदन बिहीवार पार्टीलाई बुझाइने छ । कार्यदलको प्रतिवेदनको आधरमा पार्टीले निर्णय गर्ने उनले बताए।
अध्यादेशका विषयवस्तुहरु सकारात्मक भएपनि अध्यादेशबाट राज्य चलाउने प्रवृत्ति गलत भएको उनको भनाइ छ । उनले केही अध्यादेशलाई पार्टीले सकारात्मक रुपमा लिएपनि केही अध्यादेशहरुप्रति गम्भिर आपत्ति रहेको बताए।
उनले भने, ‘अहिलेसम्मको छलफल हेर्दा हामीले अध्यादेशलाई प्रक्रियाको हिसाबमा यसलाई राम्रो मान्दैन । यदि विधेयक को रुपमा ल्याउन पाए जनप्रतिनिधिले वर्नरसिप लिन पाउँथे । तर सरकारले अति आवश्यक देखेको हुनाले अध्यादेशबाट ल्याएको हो । त्यसकारण सरकारलाई सचेत गराउन र अध्यादेशबाट राज्य सञ्चालन गर्नु राम्रो परिपाटी होइन । अध्यादेशको कन्टेन्टको आधारमा प्रतिवेदन तयार गर्नुपर्ने भएको कारण केही समय थप लाग्ने स्थिति छ । हामी भोलि त्यो प्रतिवेदन पार्टीलाई बुझाउँछौं र एउटा निर्णयमा पुग्छौं । केही अध्यादेश हामीले सकारात्मक रुपमा लिएका छौं भने केही अध्यादेशमा हाम्रो गम्भिर आपत्ति छ ।’
प्रकाशित: २३ माघ २०८१ १८:०६ बुधबार





