२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको प्रगति र विद्यमान अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा.युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाबारे उनले आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे ब्रिफिङ लिएका हुन् ।

छलफलमा नेपाली सेनाका तर्फबाट खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखि रहेको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले सोचविचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीयरुपमा काम हुने विश्वास व्यक्त गर्दै उत्पन्न समस्याबारे सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या थप बुझेर समाधानको प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।

कूल ७० दशमलव ९७ किलोमिटर दूरीको दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको सो सडक आयोजना २०७४ सालमा सुरु भएको हो । संशोधित अवधिअनुसार आयोजना २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको हालसम्मको समष्टीगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जंगी अडडले जनाएको छ ।

प्रकाशित: २३ माघ २०८१ १७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App