२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए : चिरीबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले  कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गरेका छन्।

ललितपुर महानगरको वडा नं १३ र १४ को सिमानाबाट वडा नं २५ लाई जोड्ने नख्खुखोला पुलको उद्घाटन गर्दै शुक्रबार महानगरप्रमुख महर्जनले वडा नं १३ मा पर्ने कुसुन्तीमा १८ जना र वडा नं ३ मा पर्ने धोबीघाटमा ३२ जनाले ज्यान गुमाएको जानकारी दिए । समस्या समाधानका लागि अपाङ्गतामैत्री पुल निर्माणका लागि महानगरपालिकाले अग्रसरता लिएको उनको भनाइ थियो।

“हामीले सुरुमै चक्रपथको डिजाइन गलत छ भनेका थियौँ, ललितपुर खण्डमा पर्ने सात दशमलव नौ किलोमिटर सडकमा बत्ती नहुँदा रातको समयमा धेरैले ज्यान गुमाएका छन्, चक्रपथको धोवीघाटमा मात्रै ३२ जनाले ज्यान गुमाउनुपरेको छ, सरकारले सुधार गर्न अनुमति नदिएका कारण समस्या भएको छ, तर हामी प्रयासरत छौँ”, उनले भने ।

प्रमुख महर्जनले नख्खुमा बनेको पुल उद्घाटन गर्दै सम्पदा र संस्कृतिको सहरका नागरिकलाई सहज दैनिकीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले कुसुन्तीमा नेपालमै पहिलो पटक लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण हुने बताउँदै पाटन अस्पतालको मुख्य गेटमा भएको ट्राफिक समस्या समाधानका लागि पुल निर्माणका लागि डिजाइन भएको समेत जानकारी दिए ।

“समस्या समाधानका लागि पुल निर्माणका लागि जग्गाका लागि सञ्चय कोष र मानसिक अस्पतालसँग कुरा भइरहेको छ”, उनले भने, “ललितपुर महानगर क्षेत्रमा पर्ने सात दशमलव नौ किलोमिटरभित्र दुर्घटना अन्त्य गर्न छदेखि नौ महिनाभित्र सडक बत्ती राख्छौँ ।”

प्रकाशित: १८ माघ २०८१ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App