राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकाले सरकारले ल्याएको अध्यादेशलाई लिएर पार्टी नेतृत्वले दोहोरो चरित्र देखाएकाे बताएका छन्। सामाजिक सञ्जालमार्फत हिजो त्यहीँ कुरा आफूले गर्दा ठीक हुने तर अहिले सरकारले गर्दा गलत कसरी हुन्छ भन्ने उनको प्रश्न छ।
उनले लेखेका छन्, ‘बुद्धिजीवीको बाटोमा पार्टी चलाउन पर्नेमा विरोधीको सहायतामा पार्टी चलाउन थाले। पार्टीको काम भनेको सरकारले राम्रो गरोस्, नराम्रो गरोस् विरोध जनाउनु मात्र देखियो। हामी आफैँ सरकारमा हुँदा कैयन अध्यादेशको योजना बुनिरहेका थियौँ। हामी आफैँले ल्याउन खोजेको थुप्रै अध्यादेशमध्ये केही अध्यादेश अहिलेको सरकारले ल्यायो। अब त्यसको विरोध गर्ने रे पार्टीले। त्यहीँ कुरा हामीले गर्दा राम्रो, अरूले गर्दा नराम्रो? हामीले गर्दा लोकतान्त्रिक, अरूले गर्दा अलोकतान्त्रिक?’
एक वर्षअघि देश बनाउने ब्लु प्रिन्ट तयारीका लागी पार्टीका प्रत्येक नेतालाई केही न केही काम केन्द्रीय समितिको बैठकबाटै निर्णय गरेर दिएको भए पनि नतिजा शून्य देखिएको उनले उल्लेख गरेका छन्। काम गर्दा, गर्न खोज्दा पार्टीभित्र घेराबन्दी र तिरस्कार सहनुपरेको उनको गुनासो छ।
उनले भनेका छन्, ‘राजनीतिमा काम त गुट बनाउने रहेछ, हल्लिने, भेट्ने, गफ दिने काम रहेछ। म देश बनाउने, ऐन/कानुन/नियम/नीति के के गर्नुपर्छ, त्यसमा घोटिन्थे। आफ्नाले जति गल्ती गरे पनि वाह वाह भन्न पर्ने रहेछ, अरूले जे गरे पनि विरोध गर्न पर्ने रहेछ। आफूले ल्याउने अध्यादेश वाह वाह, अरूले त्यहीँ ल्याए विरोध गर्न पर्ने रहेछ। देश बनाउने नीति र राजनीति फरक रहेछ। कठै, कसरी बन्छ देश यस्तो तरिकाले।’
प्रकाशित: १७ माघ २०८१ ११:२६ बिहीबार