९ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml १०:५८ पूर्वाह्न
खेल

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप: उद्घाटनमा दमक विजयी

स्वर्गीय नेता कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दमक एकेडेमी फुटबल क्लबले विजयी सुरुवात गरेको छ।

इटहरी–५ जनता बहुमुखी क्याम्पसको खेलमैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा दमक एकेडेमीले न्यु स्टार क्लब बराहक्षेत्रलाई १–० को झिनो अन्तरले पराजित गर्‍यो।

दमकका लागि खेलको १५औं मिनेटमा एनोस मगरले गरेको गोल नै निर्णायक बन्यो। निर्धारित समयभर थप गोल हुन नसकेपछि दमकले उक्त गोलकै मद्दतले जित दर्ता गर्‍यो। उत्कृष्ट प्रदर्शन गरेबापत एनोस ‘म्यान अफ द म्याच’ घोषित भए। उनले पुरस्कारस्वरूप नगद पाँच हजार प्राप्त गरे।

आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेतालाई भने १ लाख ३० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ। अघिल्लो वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको हो।

प्रतियोगितामा ‘म्यान अफ द म्याच’ घोषित प्रत्येक खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता खेलाडीले जनही १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिता संयोजक तथा क्लबका संरक्षक विकास केसीले यसबारे जानकारी दिएका हुन्।

२२ लाख ५५ हजार रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमहरूमा दमक एकेडेमी, न्यु स्टार क्लब बराहक्षेत्र, आयोजक द योङ ब्रदर्श क्लब इटहरी, केराबारी फुटबल क्लब मोरङ, लोहोरुङ फुटबल क्लब संखुवासभा, चारतारे यूथ क्लब मोरङ, गाइघाट फुटबल क्लब उदयपुर र सिंहदेवी फुटबल क्लब धनकुटा रहेका छन्।

प्रतियोगिताको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका थिए।

प्रकाशित: १७ माघ २०८१ २२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App