आफू हनिमुनमा आएको देशकै राजदूत भएर फर्कन पाउनुको रोमाञ्चकता निकै हुन्छ। नेपालका लागि जापानी राजदूत तोरु मायदा धेरै वर्षअघि यहाँ पर्यटक बनेर आएका थिए। अहिले यहाँ राजदूत भएर आएपछि उनको घुम्न जाने सूचीमा थुप्रै ठाउँ थपिएका छन्।
हो, राजदूत मायदा आफ्नो त्यही अनुभव नेपाल जाइका अलमनाई एसोसिएसन (जान) ले बिहीबार साँझ आयोजित स्वागत समारोहमा बताइरहेका थिए। धेरैले उनलाई सोध्ने गर्छन्, ‘यो तपाईंको पहिलो नेपाल भ्रमण हो ?’ उनी मुस्कुराउँदै भन्छन्, ‘म धेरै अघि यहाँ आइसकेको थिएँ।
अमेरिकाको जर्ज टाउन विश्वविद्यालय र जापानको प्रसिद्ध टोकियो विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका उनी यसअघि दारेसलाममा राजदूत थिए। तर, उनले यहाँ आउने बित्तिकै नेपाली स्वाद, परम्परा र संस्कृतिको पहिचान गर्न थालिसकेका छन्।
आगामी वर्ष नेपाल–जापान मैत्री सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सव मनाउने तयारी भइरहेका बेला राजदूत मायदाले के कस्ता कार्यक्रम आयोजना गर्न सकिन्छ भन्ने जिज्ञासासमेत कार्यक्रमलाई सम्बोधन गर्दै राखेका थिए।
जापानको जनसङ्ख्या घट्दै गएको छ। जापानमा दुई लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको स्मरण गर्दै राजदूत मायदाले अरु धेरै नेपाली कामदार जापान लैजान सकिने संकेत गरेका छन्। ‘जापानी नेपाली समुदायलाई स्वागत गर्न पाउँदा खुसी हुनेछ,’ उनले भने।
कार्यक्रममा जानका अध्यक्ष डा. रामचन्द्र भुसालले विगत पाँच वर्षदेखि आफ्नो संस्थाले दुई देशबिचको सम्बन्ध सुमधुर बनाउन, जापानी प्रविधि नेपालमा भित्र्याउन र नेपालको आर्थिक विकासमा समेत उल्लेख्य भूमिका खेल्दै आएको बताए।
प्रकाशित: १७ माघ २०८१ २१:४८ बिहीबार