चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी ‘नारद मुनि थुलुङ राई स्मृति गोल्डकप ०८१’ मा सलेश युवा क्लब सिराहा सेमिफाइनल प्रवेश गरेको छ।
बिहीबार भएको तेस्रो दिनको खेलमा सलेशले मोरङको एलएक्स फुटबल क्लबलाई २–१ को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
खेलको २३औं मिनेटमा सलेशका श्याम मुरमुरले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, पहिलो हाफको अन्त्यतिर एलएक्सका रोहन कार्कीले ४०औं मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए।
दोस्रो हाफमा दुवै टिमले आक्रमक खेल खेले पनि ६०औं मिनेटमा सलेशका मिलन राईले गरेको गोल निर्णायक बन्यो। निर्धारित समयसम्म थप गोल हुन नसक्दा एलएक्स प्रतियोगिताबाट बाहिरियो। उत्कृष्ट प्रदर्शन गरेका मिलन ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे।
अब सलेशले १९ गते हुने पहिलो सेमिफाइनलमा उद्घाटन खेलको विजेता बागमती युवा क्लब सर्लाहीसँग प्रतिस्पर्धा गर्नेछ।
आयोजक बसाहा क्लबका अनुसार शुक्रबार अन्तिम क्वार्टरफाइनल खेल न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरी र एभरेष्ट फुटबल क्लब सुनसरीबीच हुनेछ। प्रतियोगिताका सेमिफाइनल खेल १९ र २० गते, फाइनल भने २२ गते हुनेछ।
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पाँच लाख प्राप्त गर्नेछन्। उपविजेताले दुई लाख २५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट किपर, उदीयमान खेलाडीलगायत सात विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा नारद मुनि थुलुङ राईको स्मृतिमा बसाहा क्लबले डेढ दशकदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रकाशित: १७ माघ २०८१ २२:१० बिहीबार