स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सोमबारबाट सुरु भएको थुनछेक बहस पहिलो दिन सकिएन । नसकिएपछि बहस कम्तीमा बुधवार सम्मका लागि लम्बिएको छ । मङ्गलवार सार्वजनिक बिदा भएकाले अब बाँकी बहस बुधवार मात्रै हुने छ ।
यस क्रममा रविलाई अदालतले फेरी प्रहरी हिरासतमै पठाएको छ । आइतबार अदालतमा उपस्थित भएपछि उनलाई साँझ प्रहरी हिरासतमा पठाइएको थियो । सोही क्रममा सोमबार थुनछेक बहस नसकिँदा उनी हिरासतमा पठाइएका थिए ।
यसरी उनलाई फेरी हिरासतमा पठाउँदा अदालत परिसरमा उनका समर्थक र रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
यता रविलाई इजलासबाट बाहिर निकालेर हिरासतमा लैजाँदा बाहिर मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समेत देखिएका छन् । पछिल्लो समय विभिन्न विवादमा घेरिएका प्रसाईँ अदालतबाहिर किन आए भन्ने खुलेको छैन । प्रसाईँ अदालत परिसरमा रहँदा बाहिर सडकमा भने रास्वपा समर्थक प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीमा थिए ।
प्रकाशित: २९ पुस २०८१ १७:२७ सोमबार