२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालेनबाट सकारात्मक बोली खोज्दै रवि: आउला त ‘स्ट्याटस’ ?

बिरलै सार्वजनिक अभिव्यक्ति दिने काठमाडौं महानगरका मेयर बालेन्द्र साह जब कुनै विषयमा अभिव्यक्ति दिन्छन्, तब व्यापक चर्चा पाउँछ । सञ्चारमाध्यमबाट लगभग पूरै टाढा रहेका मेयर बालेनले दिने अक्सर अभिव्यक्ति सामाजिक सञ्जालबाटै आउँछन् । र, उसै गरी सामाजिक सञ्जालमा चर्चाका मसालेदार विषय बन्छन्। एक स्ट्याटस नै तरङ्गका लागि काफी बनिदिन्छ ।  

नहोस् पनि कसरी? सामाजिक सञ्जालमा लाखौँ फलोअर्स रहेका बालेनका युवा समर्थक पनि उत्तिकै छन्। बालेनबाट एक स्ट्याटस पोस्ट हुनु मात्रै पर्छ उनीहरू एकैसाथ ‘लाइक’ र ‘कमेन्ट’मार्फत बर्बर बर्सिन्छन्। यही कारण सामाजिक सञ्जालको भिड देशका हरेक राजनीतिक वा सामाजिक घटनाक्रममा बालेनको प्रतिक्रियाको अपेक्षा राख्छ । 

यस्तै अपेक्षा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राखिरहेको छ। सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेदेखि नै रास्वपाका नेताकार्यकर्ता देखि सामान्य समर्थकले पनि त्यसबारे बालेनको प्रतिक्रियाको अपेक्षा राखिरहेका छन् ।

उसो त, रवि पक्राउको विषय झन्डै पछिल्ला तीन महिनाको सबैभन्दा चर्चित विषय हो। रास्वपाले रवि सहकारी ठगीमा संलग्न नरहेको भन्दै एकोहोरो रटान गरिरहेको छ । सत्तापक्षमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप रास्वपाको छ। रास्वपाले महिनौँसम्म  पोखरादेखि, चितवन, बुटवलदेखि काठमाडौँमा सडक प्रदर्शनसम्म गर्न भ्यायो । 

सहकारी ठगी प्रकरणमा आफ्ना सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा प्रदर्शन गर्दै राप्रपाका नेताकार्यकर्ता ।  

अहिले पनि रवि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा थुनछेक बहस चलिरहेको छ। 

रवि पक्राउ पर्ने सङ्केत पाए लगत्तै देखि रास्वपाका नेताकार्यकर्ताले प्रतिपक्षमा रहेका दलदेखि नागरिक समाजसम्मको साथ लिन खोजेको थियो । ‘वैकल्पिक शक्ति’ भनिएकाहरूबाट उसको झन् बढी आशा थियो । 

यस क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अप्रत्यक्ष साथ दिएको देखियो । रास्वपा सँगै सडकमा नउत्रिए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरूले रविको पक्राउ राजनीतिक प्रतिशोधपूर्ण भन्दै रास्वपाकै भाषा बोलिरहेका छन् । 

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ।

आफूलाई वैकल्पिक नेता नै भनेर दाबी गर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पोखरा नै पुगेर रविलाई हिरासतमा भेटे। सत्तापक्षबाट नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी पनि साङ्केतिक रूपमा ‘सम्पत्ति शुद्धीकरण’मा छानबिनको कुरालाई लिएर रविको पक्षमा सुनिए ।

तर, यो विषयमा मेयर बालेन भने फिटिक्कै बोलेनन् । न, रविको विषयमा बालेनले रत्तिभर पनि चासो देखाएको देखियो । 

यस्तोमा बालेनबाट आफ्नो पक्षमा बोलीको आशा राखेका रास्वपा नेताहरूले चासो समेत राख्न थालेको लामै समय घर्किसकेको छ । रवि पक्राउ परेलगत्तै रास्वपाका नेताहरूले बालेनलाई भेट्न नै खोजेका थिए। भेटका लागि रास्वपाका नेताहरूले बालेनको सचिवालयलाई पटक–पटक फोन समेत गरेका थिए। तर,बालेनले रास्वपा नेताको भेट गर्ने आग्रहलाई टेर पुच्छर लगाएनन् । 

‘रास्वपाका नेताहरूले मेयरसाबसँग भेटघाटको समय मिलाइदिन बारम्बार फोन आइरहेको सत्य हो,’ बालेनको सचिवालय भन्छ,‘तर मेयरसँग भेटघाट अहिलेसम्म भएको छैन।’ 

रवि वा रास्वपाका विषयमा बालेन अहिले कुनै पनि किसिमको प्रतिक्रिया नजनाउने पनि सचिवालय स्रोत बताउँछ। ‘यसबारे उहाँको कुनै प्रतिक्रिया आउँदैन। रास्वपा मात्र होइन, अन्य दलबारे पनि उहाँले अहिले बोल्नुपर्ने केही छैन,’ सचिवालय स्रोत भन्यो । बरु बालेन अहिले आफ्नै महानगरको काम कसरी गर्ने कुरामा केन्द्रित रहेको ती सदस्य बताउँछन् । 

यता बालेनसँग आफू कुरा गर्न चाहेको कुरा स्वयं रास्वपाका नेताले नै खुलासा गरिसकेका छन् । पुस १२ गते सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बालेनसँग संवाद गर्न चाहेको स्वीकार गरेका थिए । 

‘परिवर्तन पक्षधरसँग संवाद र छलफल गरेका छौँ, विमर्शहरू गरिरहेका छौँ,’ उनले भनेका थिए, ‘देश निर्माणका लागि सबैसँग संवाद गर्दै सबैलाई एक ढिक्का बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो।’

रवि र बालेनको सम्बन्ध

बालेन निर्वाचित भएको स्थानीय निर्वाचनमा उनलाई आफ्नो सहयोग रहेको भन्दै रास्वपा सभापति रविले जस लिन खोज्ने गरेका छन् । बालेनकै जितपछि रविले हौसिएर राजनीतिमा उत्रिएको र पार्टी खोलेकोसम्म राजनीतिक वृत्तमा चर्चा छ ।  

२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले अप्रत्याशित सफलता हात पा¥यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपा २१ सांसदसहित प्रतिनिधिसभाको चौथो ठुलो दल छ । 

त्यसपछि त्यो शक्तिलाई रविले बारम्बार सत्ताको सिँढी बनाउन कन्जुस्याइँ गरेनन् । उनी दुई पटक उपप्रधानमन्त्री सहित गृहमन्त्री बने ।  

रवि पहिलो पटक सत्ता रोहणको तयारीका बेला बालेनले पहिलो फायर खोलेका थिए । ०७९ पुस ९ गते राति बालेनले चार लाइनको कविता लेख्दै भनेका थिए, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश । उही पुराना व्यापारीहरू ।’ 

उनको यो कविता मूलतः रवि र रास्वपा केन्द्रित नै थियो । त्यसको दुई दिनपछि पुस ११ गते रवि पहिलो पटक उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेका थिए । 

पहिलो पटक गृहमन्त्री बनेपछि नागरिकता विवादमा सर्वोच्च अदालतले ०७९ माघ १३ मा फैसला गरेपछि सांसद, पार्टी सभापति र मन्त्री पदबाट रवि स्वतः पदमुक्त भए । त्यसपछि दोस्रो पटक पनि उपनिर्वाचन लडेका लामिछाने निर्वाचित भएर आए । 

यस क्रममा ०८० वैशाखताका काठमाडौँको सुकुम्वासी समस्यालाई लिएर मेयर बालेन सङ्घीय सरकारसँग द्वन्द्वमा थिए । उसाे त रवि पहिलाे पटक गृहमन्त्री हुँदा नै बालेनले  सुकुम्वासी समस्या समाधानका लागि सहयोग मागेका थिए । बालेनले रविबाट सहयोगको अपेक्षा राख्दै मन्त्रालयमै पुगेर भेटेका पनि थिए ।  तत्कालीन समयमा आश्वासन बाहेक रविले अन्य केही दिएनन् ।

०७९ माघ १२ गते गृहमन्त्रालयमा भएको रवि र बालेनको भेट । 

भेटेको दोस्रो दिन नै सर्वोच्चको फैसला पछि रविको पद गयो । केही समयपछि रास्वपा प्रतिपक्षमा पुग्यो । प्रतिपक्षमा रहँदा पनि रास्वपाबाट अपेक्षाकृत सहयोग पाइएन। यस क्रममा वैशाख १९ गते राति सामाजिक सञ्जालमा लेखे, ‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।’ बालेनको त्यो अभिव्यक्ति विरुद्ध रास्वपाकै केही नेता प्रतिवादमा उत्रिएका थिए । 

फेरी ०८० फागुन २१ गते रवि उपप्रधानमन्त्री सहित गृहमन्त्री बने। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले, रास्वपासहितको सरकार बनाउँदा रविलाई यो अवसर जुरेको थियो । 

दोस्रो पटक रवि गृहमन्त्री हुँदा मेयर बालेनले महानगर क्षेत्रको सुकुम्वासी समस्या समाधानका लागि फेरी सहयोग मागे । नारायण काजी श्रेष्ठ गृहमन्त्री हुँदा आफूलाई सहयोग नगरेको भन्दै बालेनले पुनः सहयाेग मागेका थिए । 

रविसँगको भेटमा बालेनले सुकुम्वासी समस्या समाधानसँगै तीनकुनेको पार्कमा केही व्यक्तिको जग्गा परेको र त्यसको मुआब्जा वितरणको विषयका फाइल मन्त्रालयमा अड्किएको सम्मका कुरा राखेका थिए । यस्तै काठमाडौंका केही स्थान ‘नो भेइकल जोन’ बनाउने आफ्नो अवधारणामा समेत सहयोगको प्रस्ताव राखेका थिए । 

भेटका क्रममा रविले प्रक्रिया पूरा गरेर समस्या समाधान गर्ने आश्वासन समेत दिएको बताइन्छ । तर त्यसको लागि रविले कुनै प्रक्रिया भने अगाडि बढाएनन्। रविबाट आफूले सोजस्तो साथ नपाएपछि मेयर बालेन थप नकारात्मक बने। 

यही बेला रवि दम्पती सहकारी ठगी प्रकरणमा जोडिन थालिसकेका थिए। एकातिर गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको सहकारीको बचत रकमलाई लिएर तत्कालीन प्रमुख प्रतिपक्षी दले रविविरुद्ध संसद्मा मोर्चा खोलेको थियो । 

रवि गृहमन्त्री रहेको यही बेला पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको काठमाडौँको साई स्वागत सहकारीमा काठमाडौं महानगरको टोलीले छापा मारेर कागजातहरू नियन्त्रणमा लिएको थियो । 

रवि पत्नी निकिता पौडेल ।

यही बेला एकातिर रविले बालेनलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए भने, तत्कालीन समयमा श्रम मन्त्री रहेका रास्वपा उपसभापति डोलप्रसाद अर्याल महानगर पुगेका समाचार बाहिरिएका थिए । यसरी महानगरको टोलीले पत्नी निकिता जोडिएको साई स्वागत सहकारीमा छापा मारेको विषयमा रवि बालेनसँग रुष्ट समेत बनेका थिए । 

अहिले उनै रवि र रास्वपा सहकारी ठगीमा मुद्दा चलिरहँदा बालेनको सकारात्मक अभिव्यक्तिको आशा राख्दै बालेन समक्ष तारन्तार लबिङ गरिरहेको छ । 

प्रकाशित: २५ पुस २०८१ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App