कुनै समय टुकी र दियालोको भरमा अन्धकार रात बिताउँदै आएको जुम्ला अब उज्यालोको नयाँ युगमा प्रवेश गरेको छ। नेपाल विद्युत् प्राधिकरणले जिल्लाका ७,५०० भन्दा बढी घरधुरीमा विद्युत् सेवा पुर्याएको छ।
पातारासी गाउँपालिका बाहेकका अन्य सात गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतीयकरण सम्पन्न भएको हो। विद्युत् सेवा पुगेसँगै जुम्लाका गाउँहरू उज्यालोले झिलिमिली भएका छन्।
गाउँ-गाउँमा विद्युत् पुगेपछि विद्युतीय उपकरणहरूको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ। धान कुट्ने, पिठो पिस्ने, काठ च्यात्ने मेसिनजस्ता उपकरणहरू अब गाउँमै प्रयोग गर्न सकिने भएको छ।
विद्युत् प्राधिकरणका जुम्ला वितरण केन्द्र प्रमुख रामआशिष शाहका अनुसार जिल्लाका आठ स्थानीय तहमा विद्युत् सेवा पुर्याइएको छ। यद्यपि, पछिल्लो समय मिटर अभावका कारण लाइन विस्तारमा केही ढिलासुस्ती भएको छ।
हाल प्राधिकरणले पातारासी गाउँपालिकाका चुकेनी, चन्दननाथ गाउँपालिकाको घुघुती, र तातोपानी गाउँपालिकाको जालपादेवी जलविद्युत् आयोजना मार्फत १.३२४ मेगावाट विद्युत् वितरण गरिरहेको छ।
विद्युत् पुगेसँगै बालबालिकाको अध्ययन सहज बनेको छ। विद्यालयहरूमा डिजिटल प्रविधिको प्रयोग सुरु भएको छ भने सरकारी तथा गैरसरकारी कार्यालयहरूको कामकाजमा समेत सुधार आएको छ।
पहिले जुम्लामा साना माइक्रो हाइड्रो परियोजनाबाट सीमित मात्रामा बिजुली बाल्ने गरिन्थ्यो। अधिकांश गाउँलेहरू सल्लाको दियालोको भरमा गुजारा चलाउँथे। तर अब राष्ट्रिय प्रसारण लाइनको बिजुलीले सिंजा क्षेत्रलाई उज्यालो बनाएको छ।
प्रमुख शाहले आगामी दुई वर्षभित्र हरेक जुम्लावासीको घरमा विद्युत् सेवा पुर्याउने लक्ष्य रहेको बताए। उनले भने, ‘दुई वर्षमा हरेक घरमा बिजुली पुग्नेछ। बाल्ने नबाल्ने चाहिँ उनीहरूको रोजाइ हुनेछ।’
विद्युत् महसुल भुक्तानी र मर्मतका लागि उपभोक्तालाई कार्यालय धाउनुपर्ने अवस्था छैन। प्रविधिमार्फत यी सेवाहरू प्रदान गरिँदै आएको छ।
विद्युत् पुगेसँगै गाउँको अनुहार फेरिएको छ। अबको दुई वर्षमा जुम्ला उज्यालोको नमुना जिल्ला बन्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २४ पुस २०८१ २०:५० बुधबार