तराई–केन्द्रित दलहरूबिच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरूसँग वार्ता र संवादलाई तीव्र पारेको छ ।
जप्रपाका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता टोलीले बिहीबार महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतोले हालै गठन गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग वार्ता गरेको हो ।
अशोक राईको जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता टोलीसमेत गठन गरिसकेको छ । सो वार्ता टोलीसँग जप्रपाका वार्ता टोलीले संवाद गरेको हो । जप्रपाका वार्ता टोली सदस्य ईश्वरदयाल मिश्रका अनुसार जसपा सहकार्य प्रस्तावप्रति सकारात्मक रहेको छ ।
यसैगरी, जप्रपाको वार्ता टोलीले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरूसँग वार्ता गरेको छ । राजेन्द्र महतोको पार्टी पनि सहकार्यका लागि सहमति जनाइएको मिश्रले बताए ।
सबै दलका नेताहरु सहकार्यका लागि सहमत देखिएपनि ठोस निर्णय हुन भने बाँकी रहेको बताइएको छ । संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि सबै मधेसी दलहरु एक ठाउँमा आउनै पर्ने सबै साझा धारणा रहेको मिश्रले जानकारी दिए ।
देशको वर्तमान परिस्थिति निरन्तर जटिलता तर्फ उन्मुख भएको हुँदा, बिग्रिँदो अर्थतन्त्र झन् गिर्दो तथा आशावाद खस्किँदो, नैराश्यता बढ्दो अवस्थामा, ग्रामीण जनजीवन आक्रान्त, जनतामा आशावादीको खाँचो महसुस भएकोले राजनीतिक दलहरूबिच सहकार्यको आवश्यकता महसुस गर्दै जनता प्रगतिशील पार्टीले तीन सदस्यीय वार्ता टोली गरी वार्ता र संवादलाई तीव्रता दिएको हो।
प्रकाशित: १९ पुस २०८१ १४:५२ शुक्रबार