प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व र जनतामा भरोसा पुनःस्थापना गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहकार्य गरिएको बताएका छन्।
आइतबारदेखि सुरु पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले यो सहकार्य नेपालको राजनीतिक स्थिरता सुनिश्चित गर्न महत्वपूर्ण कदम भएको बताएका हुन्।
प्रतिवेदनका अनुसार राजनीतिक अस्थिरता गहिरिँदै जाँदा लोकतान्त्रिक गणतन्त्रलाई खतरामा पार्ने, जनतामा निराशा बढाउने र लोकतन्त्रविरोधी शक्तिहरूको मनोबल उच्च हुने सम्भावना छ। यस अवस्थाले नेपालको राष्ट्रिय हितलाई चुनौती दिने भएकाले सहकार्य अपरिहार्य रहेको ओलीको प्रतिवेदनले औंल्याएको छ।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन, सुशासन प्रवर्द्धन, र आर्थिक विकासलाई सहकार्यको प्रमुख उद्देश्यका रूपमा प्रस्तुत गरेका छन्। "सहकार्य सफल बनाउन इमानदारी र परस्पर विश्वास अनिवार्य छ," उनले भने।
सहकार्यले अस्थिरता घटाई आन्तरिक र बाह्य लगानीकर्ताहरूको विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण योगदान दिने आशा गरिएको छ।
प्रतिवेदनले मुख्य राजनीतिक शक्तिहरूको विभाजित अवस्थाल राष्ट्रिय मनोबललाई कमजोर बनाउने चेतावनी दिएको छ।
प्रधानमन्त्रीले सहकार्यविरुद्ध केही दलहरूले मिथ्या भाष्य निर्माण गर्न खोजेको आरोप लगाएका छन्। प्रतिवेदनमा भनिएको छ, "ठूलाठूला भ्रष्टाचारका फाइल खोल्न थालेपछि दलहरू सहमतिमा पुगेको" र "सहकार्यले संविधान संशोधनका नाममा संघीयता, समावेशी प्रतिनिधित्व, र समानुपातिक प्रणाली जस्ता उपलब्धिहरू खोस्न खोजेको" जस्ता भ्रामक प्रचारहरू निराधार छन्।
एमालेले २०७९ को निर्वाचनअघि नै कांग्रेससँग सहकार्यको प्रस्ताव गरेको उल्लेख गर्दै प्रतिवेदनले यो प्रयास वर्तमान संकटलाई समाधान गर्न अत्यावश्यक रहेको स्पष्टीकरण दिएको छ। सहकार्यले विगतका भ्रमपूर्ण प्रचार र नकारात्मक धारणा खारेज गरेको ओलीको दाबी छ।
प्रतिवेदनले भ्रष्टाचारविरुद्धको संघर्षलाई राजनीतीकरण गर्न नहुने उल्लेख गरेको छ। "भ्रष्टाचारको छानबिन, अनुसन्धान, र न्यायिक प्रक्रिया स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्छ," प्रतिवेदनमा भनिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायालयजस्ता संस्थालाई सशक्त बनाउन सरकार प्रतिबद्ध रहेको ओलीले बताएका छन्।
नेकपा (एमाले) र कांग्रेसबीचको यो सहकार्यलाई राष्ट्रिय आवश्यकता र वर्तमान परिस्थितिको भरपर्दो समाधानको रूपमा लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। यो सहकार्यले राजनीतिक स्थायित्व, आर्थिक गतिशीलता, सुशासन, र जनविश्वास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस्
दाहाल नेतृत्वको सरकार ‘असफलताको नमूना’ : प्रधानमन्त्री
प्रकाशित: २१ पुस २०८१ १५:२९ आइतबार