२४ पुस २०८१ बुधबार
image/svg+xml
खेल

महिला लिगमा एकछत्र रश्मि

नेपाली महिला फुटबलकी ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) व्यावसायिक फुटबल खेल्न युरोप लागेपछि एन्फा महिला लिगमा विभागीय टोली एपिएफको प्रदर्शन कस्तो रहला भन्ने विषयले व्यापक चासो र चर्चा थियो।

यो जिज्ञासा समर्थकमाझ सीमित थिएन। प्रशिक्षक जीवेशकुमार पाण्डे पनि यसबारे निकै उत्सुक थिए। तीन वर्षअघिको कुरा छाड्ने हो भने सावित्राले त्यसअघिका दुई लिगमा सानदार प्रदर्शन गर्दै महिला लिगमा नयाँ इतिहास कोरिसकेकी थिइन्। ती लिगमा उनले क्रमशः २७ र ४३ गोल गर्दै उपाधि मात्र दिलाइनन्, नेपाल पुलिस क्लबको लामो समयदेखिको प्रभुत्व पनि तोडिन्। उनको उत्कृष्ट योगदानले एपिएफलाई अपराजित टोलीको रूपमा स्थापित गरेको थियो। तर, यसपल्ट सावित्रा अनुपस्थित भएपछि प्रशिक्षक जीवेश भने अत्तालिएनन्। उनले त सम्भावनाशील नयाँ खेलाडी खोज्ने प्रयास प्राथमिकतामा राखेका थिए।

उनी भन्दै थिए,‘सावित्राले सधैं खेल्न सक्ने होइन। त्यसैले हामीले उनको विकल्प यही लिगबाटै खोज्नुपर्छ।’ यद्यपि, सावित्राको जत्तिकै प्रभावशाली खेलाडी को निस्किएला? चासो भने सबैका लागि यही रहिरह्यो। सुरुआती चरणमा सावित्राको विकल्प खोज्ने प्रयास जारी रहँदा लिगको अन्तिम चरणसम्म आइपुग्दा यो प्रश्नको उत्तर सम्भवतः फेला परिसकेको छ। त्यो उत्तर बनेकी छिन्– रश्मिकुमारी घिसिङ। सावित्राको स्थानमा खेल्दै  उनले टोलीको जिम्मेवारी मात्र सम्हालेकी छैनन्, लिगमा अद्वितीय प्रदर्शन गर्दै उत्तिकै गोल पनि बर्साएकी छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न फाइनल चरणको दोस्रो खेलमा एपिएफले वालिङ नगरपालिकालाई ९–० को सानदार नतिजासँग पराजित गर्‍यो।

यस खेलमा पनि उनी नै चम्किइन्। ह्याट्रिकसहित चार गोल गरेकी उनी नै प्लेअर अफ द म्याच घोषित भइन्। प्रशिक्षक जीवेश भन्छन्, ‘उनले गोल त गरिरहेकी छन्। तर, अझैँ आत्मविश्वासको कमी छ। क्षमताअनुसार अझ राम्रो प्रदर्शन गर्नुपर्छ।’ प्रारम्भिक खेलहरूमा रश्मिले प्रभाव छाड्न निकै संघर्ष गर्नुपरेको थियो। विभागीय डर्बीमा एपिएफले नेपाल पुलिससँग गोलरहित बराबरी खेल्दा उनी खासै प्रभावकारी बन्न सकिनन्। अर्को खेलमा आर्मीसँग २–१ को जित निकाल्दा पनि उनी छायामा परिन्। तर, चन्द्रपुर नगरपालिकासँगको ६–० को एकपक्षीय जितपछि रश्मिले आफ्नो लय समातेकी हुन्। त्यसयता भने उनले पछाडि फर्केर हेर्न परेको छैन।

लिगचरणमा चार ह्याट्रिकसहित १९ गोल गरेकी रश्मिले फाइनल राउन्डमा पनि लयलाई कायम राख्ने संकेत देखाएकी छन्। तीन दिनअघि मात्रै बागमती युथ क्लबविरुद्ध ५–१ को जित निकाल्दा उनले दुई गोल गरेकी थिइन्। यससँगै उनले ११ खेलको समाप्तिमा गोलसंख्या २५ पुर्‍याइसकेकी छन्। अहिले सर्वाधिक गोलकर्ताको सूची हेर्ने हो भने यस लिगमा उनी मात्रै एकछत्र राज गरिरहेकी देखिन्छन्। उनलाई न कसैले उछिन्ला भन्ने चिन्ता छ, न त कसैले भेटिहाल्ला भन्ने नै पीर। तर, जीवेश भने उनीमा अझै फिनिसिङको कमी रहेको बताउँछन्। ‘उसले फिनिसिङ सुधार गर्न बाँकी नै छ। त्यसैले उनमा केही सुधार आओस् भनेर निरन्तर स्ट्राइकरमै खेलाइरहेको छु,’ उनले भने।

जीवेशले भनेका कुरा ठीकै हुन्। सोमबार उनले जति गोल गरिन् त्योभन्दा बढी त उनले अवसर नै गुमाएकी थिइन्। हुन त रश्मिले खेलको १७औं मिनेटमै ह्याट्रिक पूरा गरेकी हुन्। उनको प्रदर्शनअनुसार एपिएफले अझैँ गोलको आशा गरेको थियो। तर, उनले पहिलो हाफमै तीन सहज अवसर खेल फ्याँकिन्। यद्यपि, सरु लिम्बू र गीता रानाले समान दुई गोल गर्दै एपिएफको अग्रता ७–० मा पुर्‍याए। दोस्रो हाफमा भने वालिङले एपिएफलाई ७–० मै रोक्ने रणनीतिअनुसार डिफेन्सिङ खेल खेलेको थियो। तर, दोस्रो हाफमा पनि उत्तिकै अवसर रश्मिले खेर फ्याँके पनि एक गोल थप्न सफल भइन्।

अर्को गोल भने अनिता केसीले थपिन्। वालिङका मुख्य प्रशिक्षक दिलीप थापा एपिएफजस्तो टोलीसँग जित्छौं भन्ने झुटो हुने बताउँछन्। तर, रोक्ने योजनासहित मैदान उत्रिए पनि सुरुआती पाँच मिनेटमै तीन गोल खाँदा हतोत्साही हुन परेको उनको भनाइ छ। ‘विभागीय टोली भनेको फुटबल क्लब हो। हामी एकेडेमीजस्तै हो। हाम्रोमा १२ देखि १५ वर्षका नानीहरू छन्। यस्ता खेलाडीले एपिएफजस्तो टोलीलाई चुनौती नै दिन सक्दैन,’ उनले भने। यद्यपि, दोस्रो हाफमा गरेको सुधारले भने वालिङ अन्य खेलमा पुनरागमन गर्नेमा आशावादी देखिन्छ। यता, एपिएफका प्रशिक्षक जीवेश भने यसपछि दुई विभागीय टोलीसँग हुने भेटलाई लिएर चिन्तित देखिन्छन्।

लिगचरणमा पनि एपिएफले अन्य क्लबलाई दबदबामा राखे पनि विभागीय डर्बीमा त्यो अनुसारको खेल पस्किन सकेको थिएन। तर, पुलिससँग बराबरी खेले पनि आर्मीमाथि जित निकाल्न सफल भएको थियो। फाइनल राउन्ड निर्णायक भएको कारण पनि उनी रश्मिबाट धेरै आशावादी देखिन्छन्। उनी भन्छन्, ‘लिग सकिनेबित्तिकै हामीले फोर नेसन्स कप खेल्नुपर्छ। जति हुनुपर्ने उसमा त्यही भइरहेको छैन। त्यो हिसाबले विभागसँग रश्मिले आफूलाई सुधार गरोस् भन्ने छ, ताकि राष्ट्रिय टोलीबाट खेल्दा अझ सहज होस्।’ 

प्रकाशित: २३ पुस २०८१ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App