राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भित्र डा. मुकुल ढकालमाथिको कारबाही गलत भएको भन्दै ‘कोर्ष करेक्सन’ माग उठेको छ । पार्टीका दुई जना केन्द्रीय सदस्यले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई लिखित रूपमै पत्र दिएर ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउने आशयसहितको माग राखेका बताइएको छ ।
यस्तो माग राख्नेमा रास्वपाका केन्द्रीय सदस्य एवं कोसी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेशका सभापतिसमेत रहेका केन्द्रीय सदस्य तपेश्वर यादव छन् ।
तिम्सिनाले मङ्गलवार लेखेको पत्रमा प्रस्ट रूपमै मुकुलमाथिको कारबाहीको निर्णयमा गरिएको आफ्नो हस्ताक्षर फिर्ता लिएको उल्लेख छ । उनले आफ्नो पत्रमा रास्वपा आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको उल्लेख गरेका छन् ।
‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठुलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ,’ तिम्सिनाले पत्रमा लेखेका छन्,‘पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद र दुर्भाग्यपूर्ण छ ।’
मुकुललाई पार्टीबाट निष्कासन गरेपछि पार्टी झन् कमजोर भएको महसुस भएको पनि तिम्सिनाले लेखेका छन् । ‘डा. ढकाललाई पार्टीबाट निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको महसुस कम्तीमा कोसी प्रदेशका सबै रास्वपाकर्मीहरूले गरेका छन्। मलाई लाग्छ, पार्टीको यो घडीमा अब हामी सबै मिलेर अघि बढ्नु पर्छ र त्यसका लागी केही सुधारात्मक कदमहरू आवश्यक छन्,’ तिम्सिनाले लेखेका छन् ।
यसैले मुकुललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय समिति सदस्य एवं साधारण सदस्यबाट हटाउने पार्टीका सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको उनले जानकारी गराएका छन् । ‘राइट टु रिकल’को प्रावधानलाई नीति मै अवलम्बन गरेको पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीति मै रहेको पनि उनले दाबी गरेका छन् । ‘यसर्थ, पार्टीमा डा. मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु,’ तिम्सिनाले अगाडि लेखेका छन् ।
कसैसँग रिस, राग, द्वेष र अनुराग नराखीकन एक आपसका सबै तुष सबै पक्षबाट त्यागेर र सङ्कटको घडीमा ‘फुटेर होइन, जुटेर सामना गर्न’ उनले आह्वान गरेका छन् ।
यस्तै मधेस प्रदेश सभापति यादवले भने मुकुलको प्रस्ट नाम नलिएका स्रोत बताउँछ । तर, असारयता भएका सबै निर्णयले पार्टीलाई क्षति पुगेको भन्दै ती निर्णयबाट आफूले हस्ताक्षर फिर्ता लिएको स्रोत बताउँछ । यादवले पनि पार्टी विधानमा रहेको ‘राइट टु रिकल’कै अवधारणा अनुसार निर्णयहरूबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको बताइएको छ ।
नागरिकसँगको कुराकानीमा आफूले पत्र लेखेको/नलेखेको कुरा यादवले प्रस्ट बताउन चाहेनन् । तर, आफू पार्टीभित्र सबै मिलेर जानुपर्छ भन्ने पक्षमा रहेको बताए ।
‘मैले सबै जना मिलेर जानुपर्छ । पार्टी गम्भीर अवस्थामा छ, देश गम्भीर अवस्थामा छ भनेर भनिरहेको छु’, उनले भने, ‘यस्तो कठिन मोडमा पार्टीका नेता, शुभचिन्तक सबैले मिलेर एक भावनाका साथ अघि बढ्नु अपरिहार्य रहेको भनेको हुँ ।’
स्रोतका अनुसार तिम्सिनाले आफ्नो पत्र केन्द्रीय समितिका सदस्यहरूको सामाजिक सञ्जालको ग्रुपमै राखेका छन् । यादवले भने कार्यवाहक सभापति अर्याललाई पठाएको बताइएको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले कोसी प्रदेशका सभापति तिम्सिनाले पत्र पठाएको कुरा पुष्टि गरे । ‘कोसी प्रदेशका सभापतिले पत्र पठाएको कुरा आएको छ । मधेस प्रदेशका सभापतिजीले भने पत्र नपठाएको मलाई भन्नुभएको छ,’ बुर्लाकोटीले भने,‘तर, यो विषय धेरै ठुलो विषय भने होइन । यसमा धेरै छलफल आवश्यक छ जस्तो पनि लाग्दैन ।’
रास्वपाले यही पुस १९, २० र २१ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । त्यसअघि आएका धारणाले महत्त्वपूर्ण रूपमा हेरिनुपर्ने रास्वपा स्रोत बताउँछ ।
केन्द्रीय समितिमा छलफल होला त ?
आउँदो केन्द्रीय समिति बैठकमा यो विषयमा छलफल हुन आवश्यक नै नरहेको कार्यवाहक महामन्त्री बुर्लाकोटी बताउँछन् । उनले भने, ‘यो विषयको कानुनी वैधता नै छैन । केही साथीलाई आफ्नो मनको बह लागेर लेख्नुभयो होला तर प्रक्रियामा प्रवेश गरेर टुङ्गो लागेको विषय भएकाले त्यता फर्केर हेर्नुपर्ने जरुरी नै छैन ।’
सह प्रवक्ता रमेश प्रसाईँ पनि बुर्लाकोटी जस्तै केन्द्रीय समितिमा यस्ता विषय प्रवेश नपाउने बताउँछन् । ‘पार्टीको अनुशासन समिति, केन्द्रीय समितिले उहाँ(ढकाल)माथि कारबाही गर्दा पूरै प्रक्रियामार्फत भएको छ,’ प्रसाईँले भने, ‘केन्द्रीय समितिले कारबाही गर्दा सिङ्गो केन्द्रीय समिति एक ढिक्का भएर कारबाही भएर किनारा लागिसकेको विषय हो । त्यसैले यसमा फेरी प्रवेश गरिरहन जरुरी नै छैन । बैठक त्यतातिर जाँदैन ।’
यता कोसी प्रदेशका सभापति तिम्सिना भने यो विषय केन्द्रीय समिति बैठकमै उठाउनका लागि आफूले प्रस्ताव राखेको बताउँछन् । ‘यसको मक्सत नै केन्द्रीय समितिमा छलफल गराउने हो । केन्द्रीय समितिमै यो विषय उठाएको छु, त्यहाँबाटै बाहिरियो । त्यसैले त्यहाँ नै यो विषय छलफल हुन्छ÷हुनुपर्छ,’ उनले भने ।
‘कोर्ष करेक्सन’ सम्भव छ ?
पार्टी निर्माणमा मुकुलको भूमिका हेरेर अब उनलाई फर्काउनुको विकल्प नरहेको तिम्सिना बताउँछन् । ‘म पनि सुरु देखि नै पार्टी निर्माणका लागेको मानिस हुँ । पार्टीलाई एक घर मान्ने हो भने सभापति रवि लामिछाने बुबाको भूमिकामा हुँदा मुकुल आमाको भूमिकामा हुनुहुन्थ्यो,’ तिम्सिनाले भने,‘कारण बस् आमाबाबु बिच केही मतभिन्नता भयो । अब मिलाउन अरूले लागेजस्तै हामीले पार्टीभित्र आफ्नो भूमिका निर्वाह गर्ने बेला आएको छ ।’
अब पनि ‘कोर्ष करेक्सन’ नगर्ने हो भने पार्टी झन् कमजोर हुँदै जाने तिम्सिना बताउँछन् । ‘सभापति ज्युलाई सरकारले थुनामा राखेको छ, महामन्त्रीलाई कारबाही गरेर बाहिर फालियो । यस्तो कठिन अवस्थामा पनि नचेत्ने हो भने कहिले चेत्ने ?,’ उनले भने ।
मधेस प्रदेशका सभापति यादव पनि सबै मिलेर जानुको विकल्प नभएको बताउँछन् । ‘सबै मिलेर जानुपर्छ भन्ने नै मेरो धारणा हो । पार्टीका सबै नेताहरूले आत्म समीक्षा गरेर जाँदा मिल्न गाह्रो म देख्दिनँ,’ उनले भने ।
यता रास्वपाका कार्यवाहक महामन्त्री बुर्लाकोटी भने पार्टीले शतप्रतिशत केन्द्रीय समितिले गरेको आधिकारिक निर्णयबाट पछि फर्किने सम्भावना नै नरहेको बताउँछन् ।
‘एक लोकतान्त्रिक पार्टीले विधिसम्मत् गरेको निर्णय हो । निर्णय गर्दा प्रक्रियासंगत भएको छ र त्यो निर्णय पार्टी हितमा पनि छ,’ उनी भन्छन्,‘त्यसैले केटाकेटी जस्तो फेरबदल गरिरहने भन्ने हुन्न ।’ केही व्यक्तिलाई केही भन्न मन लाग्यो भन्दैमा उसले भनेका सबै कुरा पार्टीले मान्छ भन्ने नरहेको पनि उनी बताउँछन् ।
सह प्रवक्ता रमेश प्रसाईँ पनि पार्टीको निर्णय सही र नियमसंगत भएकाले ‘कोर्ष करेक्सन’ भन्ने शब्दको आवश्यकता नै नभएको बताउँछन् । ‘कुनै गलत निर्णय भएको भए पो कोर्ष करेक्सन भन्ने हुन्छ । पार्टीको नियम विपरीत काम गर्नेमाथि जरुरी कारबाही गरिएको हो,’ प्रसाईँ भन्छन्,‘त्यसैले त्यहाँ कोर्ष करेक्सनको कुनै आवश्यकता वा ठाउँ नै रहन्न ।’
‘कोर्ष करेक्सनको समय निकट आउँदै छ’
यता कारबाहीमा रहेका पूर्व महामन्त्री डा. मुकुल ढकाल भने रास्वपाको कोर्ष करेक्सनको समय नजिक आइरहेको बताउँछन् ।
‘पहिलो कुरा त पहिला म माथि अपमानजनक कारबाही गर्दा कोही चुइँक्क बोलेका थिएनन् । अहिले कम्तीमा गल्ती भएको भन्दै कसैले त बोल्न सुरु गरेका छन्,’ मुकुलले भने, ‘अब यसै गरी जान्ने बुझ्ने सदस्य रहेको पार्टीमा अरू पनि बोल्ने छन् भन्ने मलाई विश्वास छ ।’
दोस्रो कुरा आफूले उठाएको विषय अदालत प्रवेश गरिसकेकाले अदालतको फैसलापछि स्वतः कोर्ष करेक्सनको बिन्दु आइपुग्ने उनी बताउँछन् ।
‘मैले भन्दै आएको विषय अदालतमा पुग्यो । अब अदालतले रवि जीलाई निर्दोष भन्दिए म गलत हुन्छु । म माफी माग्छु । यदि अदालतले उहाँलाई दोषी भन्यो भने उहाँहरू गलत साबित हुनुहुन्छ । स्वतः म पार्टीमा फर्किने वातावरण बन्छ,’ मुकुलले भने ।
रास्वपा कानुनी राज, विधिको शासन र अदालतको न्यायिक निरूपणको विश्वास गर्ने पार्टी भएकाले अदालतबाट भएको निर्णय स्विकार्ने मुकुलले दाबी गरे । उनले भने, ‘म त सधैँ अदालतको निर्णय मान्छु नै । उहाँहरूले पनि अदालतको फैसला मान्छु भन्नुभएको छ । यदि अदालतले नै रवि जीलाई दोषी भन्यो भने, मैले भनेको सही हुन्छ । अनि सही भन्दा कारबाही गरेको मान्छेलाई ससम्मान फिर्ता गर्नु परेन र ?’
प्रकाशित: १७ पुस २०८१ १८:१६ बुधबार