२२ पुस २०८१ सोमबार
image/svg+xml
खेल

मदन भण्डारी भलिबल: नेपाल पुलिस, गुजरात स्टेट, र त्रिभुवन आर्मी विजयी

बुटवलको रामनगर खेलमैदानमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा शनिबार नेपाल पुलिस क्लब, भारतको गुजरात स्टेट क्लब, र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपाल प्रहरीको पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले पराजित गर्‍यो।

खेलको पहिलो सेट पुलिसले २५–१५ ले जिते पनि मणिमुकुन्दले दोस्रो सेट २५–२० ले जित्दै बराबरी बनाएको थियो। तेस्रो र चौथो सेटमा भने पुलिसले क्रमशः २५–२० र २५–१८ अंकसहित सहज जित निकाल्यो।

दोस्रो खेलमा भारतको गुजरात स्टेट क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा हराउँदै जित हासिल गर्‍यो। पहिलो सेटमा एपीएफले २५–२१ अंकसहित अग्रता लिएको थियो। त्यसपछि गुजरात स्टेटले दोस्रो सेट २५–१८, तेस्रो २५–१५, र चौथो सेट २५–१८ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो।

तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले गल्कोट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्‍यो।

आइतबारको पहिलो खेल आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र मणिमुकुन्द भलिबल क्लबबीच हुनेछ भने दोस्रो खेल भारतको गुजरात स्टेट क्लब र गल्कोट भलिबल क्लबबीच हुने तय भएको छ।

प्रतियोगिता पुष २४ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २० पुस २०८१ २१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App