२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको ‘मान’ छाडेर प्रतिनिधिसभाको ‘शान’ खोज्दै तीन नेता

राष्ट्रिय सभा सदस्यको कार्यकाल पूरा हुन करिब ४५ दिन मात्र बाँकी रहँदा तीन सांसदले पदबाट राजीनामा दिएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने प्रयोजनका लागि राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले कार्यकालको उत्तराद्धर्धमा आएर पदत्याग गरेका हुन्।

तीनै जना सांसदले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आफ्नो लिखित राजीनामा बुझाएका छन्।

बहालवाला राष्ट्रिय सभा सदस्यले प्रतिनिधि सभामा उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्थाका कारण उनीहरूले मनोनयन दर्ताअगावै राजीनामा दिएका हुन्।

उनीहरूको पदावधि आगामी फागुन २० गतेसम्म कायम थियो।

नारायणकाजीको सर्लाहीमा ‘टेस्ट’

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने तयारीस्वरूप राजीनामा दिएका हुन्।

यसअघि उनी २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। प्रत्यक्ष निर्वाचनमा श्रेष्ठको अनुभव मिश्रित छ। उनले २०७० सालको निर्वाचनमा मकवानपुरबाट प्रतिस्पर्धा गरेका थिए भने २०७४ सालको निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका थिए।

यसपटक भने उनी मधेश प्रदेशको सर्लाही-३ बाट आफ्नो संसदीय राजनीतिको भाग्य परीक्षा गर्न लागेका छन्।

वामदेवको बर्दिया मोह

नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता वामदेव गौतम पुनः आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा निर्वाचनमा होमिन राजीनामा दिएका हुन्।

गौतम २०४८ सालदेखि निरन्तर बर्दिया-१ बाट निर्वाचन लड्दै आएका छन्। उनको चुनावी इतिहास रोचक छ। २०७० सालको निर्वाचनमा उनी प्यूठान-१ र बर्दिया-१ दुवै स्थानबाट भारी मतले विजयी भएका थिए।

तर, २०७४ सालको वाम गठबन्धनको लहरमा पनि उनी बर्दिया-१ बाट पराजित हुन पुगे। चुनाव हारेपछि पनि २०७७ साल असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित भई उनी राष्ट्रिय सभा सदस्य बनेका थिए।

अहिले कार्यकाल सकिनै लाग्दा उनी पुनः प्रत्यक्ष निर्वाचनमार्फत संसद् छिर्ने दाउमा छन्।

तनहुँबाट भगवतीको दाबी

यसैगरी, नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले पनि प्रतिनिधि सभामा उम्मेदवार बन्न राष्ट्रिय सभा सदस्य पद त्यागेकी छिन्।

उनी तनहुँ क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिने तयारीमा छिन्। न्यौपाने २०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

त्यसअघि उनी स्थानीय तहको राजनीतिमा सक्रिय थिइन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तनहुँको भानु नगरपालिकाको मेयर पदमा थोरै मतान्तरले पराजित भएकी थिइन्।

राष्ट्रिय सभाको अनुभव संगालेपछि अब उनी प्रत्यक्ष निर्वाचन लडेर ‘लोअर हाउस’ मा प्रवेश गर्न चाहन्छिन्।

प्रकाशित: ४ माघ २०८२ २०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App