१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

कवितामार्फत घनश्यामलाई विष्णुको झटारो (कवितासहित)

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई कवितामार्फत झटारो हानेका छन् । आइतबार बिहानै सामाजिक सञ्जालमा घनश्याम लक्षित एक कविता लेखेर रिमालले ‘ह्याउ भए आफ्नै घर(पार्टी) बनाएर देखाउन’ चुनौती दिएका छन् । 

घनश्यामले शनिवार एक कार्यक्रममा एमालेले भीम रावललाई पार्टीबाट निष्कासन गरेको विषयमा अभिव्यक्ति दिएका थिए । जसमा उनले एमालेभित्र उकुसमुकुसको स्थिति रहेको बताएका थिए । 

  याे पढाैंः  घनश्यामको दाबी: ओलीको चाकरी नगर्दा भीम रावल निकालिए | Nagarik News

 याे पनि पढाैंः  ओलीलाई घनश्यामको सुझाव: तपाईंको नेतृत्व असफल भइसक्यो, छोड्नुस् | Nagarik News

त्यही कुरालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका रिमालले घनश्यामविरुद्ध कवितामार्फत जवाफ फर्काएका हुन् । 

‘उनी पो निसासिए रे ! उनन्चालीस सालदेखि यता हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,’ रिमालले लेखेको कवितामा उल्लेख छ,‘पार्टी भित्र सधैँ  उनी–विवादका लागि मौकाको खोजीमा रहे, अनवरत ‘किच–किच’ गरेर बसिरहे।’ 

रिमालको पूरा कविता पढौँ

उनी पो निसासिए रे !

उनन्चालीस सालदेखि यता 

हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,

पार्टी भित्र सधैँ उनी–

विवादका लागि मौकाको खोजीमा रहे,  

अनवरत ‘किच–किच’ गरेर बसिरहे।

प्रत्येक चुनौती चिर्दै 

पार्टीले उचाइ छोएको बेला, 

सुरु भएको विवादमा,

हामी एकताको पक्षमा उभियौँ, 

उनले विभाजनको बाटो रोजे ।

बाटो मात्र रोजेनन्, 

त्यस समूहलाई पनि बिचमै छोडे–अन्तै दौडिए।

‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।

एक समय फेरि आयो, 

पार्टीमा बहस–विवाद सुरु भयो ।

‘जोरी पारी’हरू– 

‘एमाले विनाको राजनीति’को खेतीमा लागे,

उनी ‘ओली विनाको एमाले’ भन्दै उफ्रिए ।

विभाजनको लागि कसैलाई उचाले– 

एकता भन्दै आफू अर्कातिर अल्झिए ।

मौसम छ्याङ्ग भएपछि, 

फेरि नयाँ चुनौती सामना गर्ने बेलामा–

छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।

सानै सही–

असहमत ‘अरूहरू’ले दुःखैले बनाएको घरमा

लुसुक्क छिरे– 

‘बन साङ्ला’ले ’घर साङ्ला’लाई लखेटे झैँ

उल्टै हाकिम पल्टिए ।

अहिले फेरि उनलाई लागेछ क्यारे–

कतै ‘टाँड’ पो पर्छ कि?!

कतै औँला घुसार्न पो मिल्छ कि?!

अनि भन्न थाले छन् फेरि–

‘ओलीले छोड्नु पर्छ, उकुसमुकुस भएको छ।’

अरे यार!

ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर !

आफ्नो घरको मझेरीमा, आँगनमा, 

गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडा’हरू 

बज्न नदेऊ न !

ढोका खोलुन् कि– छेस्किनी लाउन्,

अरूले उनीहरूका घरमा, 

जे गरुन्–बाल मतलब!

प्रकाशित: १४ पुस २०८१ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App