राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा विगत ३४ वर्षदेखि चल्दै आएको लुटतन्त्र र कुशासनको अन्त्य गर्ने समय आएको बताएका छन्।
बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्। उनले आगामी फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ऐतिहासिक अवसरका रूपमा लिन मतदाताहरूलाई आह्वान समेत गरे।
सम्बोधनका क्रममा सभापति लामिछानेले पुराना राजनीतिक दलहरूले देशको उद्योग कलकारखाना बन्द गराएको र युवाहरूलाई खाडी मुलुकमा श्रम बेच्न बाध्य पारेको आरोप लगाए।
‘३४ वर्षसम्म देशको ढुकुटी रित्याउनेहरूलाई हामी बिर्सदैनौं,’ उनले भने, ‘उद्योग कलकारखाना बन्द गर्ने र युवाहरूलाई विदेश लखेट्नेहरूको हिसाब जनताले लिने बेला आएको छ।’
संसद्मा सुशासनको आवाज बुलन्द गर्न आफूलाई योग्य र इमानदार साथीहरूको साथ चाहिने बताउँदै उनले आफ्नो तर्फबाट उम्मेदवार रहेका उत्तम पौडेललाई विजयी गराउन आग्रह समेत गरे।
लामिछानेले भने, ‘हामीले अघिल्लो चुनावमा २१ जना साथीहरूलाई संसद पठायौं, तर त्यो पर्याप्त भएन। यसपटक सुशासनको एजेन्डा अगाडि बढाउन र कुशासनको युग अन्त्य गर्न हामीलाई थप शक्तिशाली जनमत चाहिएको छ।’
सुकुम्बासी समस्याका बारेमा बोल्दै उनले वर्षौंदेखि सुकुम्बासीका नाममा राजनीति मात्र गरिएको बताए। रास्वपाले समस्याको समाधान गर्ने तर कसैको घर नभत्काउने प्रतिबद्धता व्यक्त गरे।
‘यसपटक सुकुम्बासीको घर होइन, सुकुम्बासी समस्या नै भत्काउने हो,’ उनले भने।
प्रकाशित: २८ माघ २०८२ १८:३८ बुधबार





