१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

उप निर्वाचन नतिजाबारे कांग्रेसः भ्रमपूर्ण सूचनाको बलमा जित्न सकिने भ्रम परास्त

‘एक्लै लडेर प्राप्त स्थान’ सन्तोषजनक एवं उत्साहवर्धक

उप निर्वाचनको नतिजाबारे नेपाली कांग्रेसले आधिकारिक प्रतिक्रिया दिँदै ‘एक्लै लडेर प्राप्त स्थान सन्तोषजनक र उत्साहवर्धक’ रहेको बताएको छ । कांग्रेस महामन्त्री एवं उपनिर्वाचनका संयोजक विश्वप्रकाश शर्माले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो धारणा सार्वजनिक गरेका छन् । 

‘उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मत मार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा हामी गर्ने छौँ नै,’ महामन्त्री शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’लाई हामीले सन्तोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएका छौँ ।’

विज्ञप्तिमा सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनमा पहिलो दलका रूपमा कांग्रेसलाई विजयी गराउने सबै मतदातामा सम्मान र आभार प्रकट गरिएको छ । साथै रिक्त ४४ स्थानका नवनिर्वाचित जनप्रतिनिधिमा एकमुष्ट बधाई ज्ञापन पनि गरिएको छ । 

यस्तै महामन्त्री शर्माले चार बुँदामा उप निर्वाचनको प्रारम्भिक समीक्षा समेत गरेका छन् । 

पहिलो बुँदामा उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता फेरि एक पटक बलियो रूपमा प्रदर्शित भएको उल्लेख छ । जसमा मूलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तीनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी रहेको उल्लेख छ । 

यस्तै दोस्रो बुँदामा रिक्त ४४ मध्ये १९ स्थानमा कांग्रेसका उम्मेदवार विजयी भएको भन्दै ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान सङ्ख्यात्मक कम तर राजनैतिक, साङ्गठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण रहेको भनिएको छ । 

यस्तै तेस्रो बुँदामा यस पटक ०७९ मा विजय पाएका केही स्थान गुमाए पनि त्यस बेला अन्य दलले जितेका केही स्थानमा आफूले विजय हासिल गरेको कांग्रेसले भनेको छ । ‘लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न,’ अगाडि भनिएको छ,‘तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने हाम्रो निष्कर्ष छ ।’

चौथो बुँदामा उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखिएको विज्ञप्तिमा उल्लेख छ । ‘गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मार्फतका भ्रमहरू चिर्न पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ ।’ 

विज्ञप्तिको अन्त्यमा ‘चुनावी दौड सकिएको छ, अब सबै तिता नमिठा भुलेर काममा जुटौँ’ भन्दै कांग्रेसले आह्वान गरेको छ । 

 

 

प्रकाशित: १८ मंसिर २०८१ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App