‘राष्ट्रिय धरोहर साहित्यकार एवं पत्रकार सम्मान २०८१’ नागरिककर्मी तथा साहित्यसर्जक दिलीप ढकाललाई प्रदान गरिएको छ।
१२औं राष्ट्रिय पोसाक दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा बुधबार पाटन दरबार परिसरमा भएको कार्यक्रममा लेखनमार्फत नेपाली पहिचान, संस्कार–संस्कृतिको संवर्धनमा पुर्याएको योगदानको कदर गर्दै ढकाललाई सम्मान गरिएको हो।
प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय पोसाक दिवसका अवसरमा नेपाली संस्कार, संस्कृतिमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।
राष्ट्रिय पोसाकको औचित्यबारे बोल्दै प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डव्यले कलासंस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दा राष्ट्रिय संस्कृतिको उत्थान हुने बताए।
‘दौरासुरुवाल, ढाकाटोपी, गुन्युचोलीले नेपालमा बसोबास गर्ने सबै जात, भाषा, संस्कृतिको साझा भेषभूषा रहेको र यिनलाई संरक्षण एवं प्रयोग गर्ने दायित्व हामी सबैको हो,’ उनले भने ‘सबै जातजातिले आफ्ना परम्परागत भेषभूषालाई संरक्षण गर्नुपर्छ। यस्ता पहिरन हाम्रा पहिचान हुन्। यद्यपि सबैको साझा नेपाली पहिरन भने दौरासुरुवाल, ढाकाटोपी नै हो।’
कार्यक्रममा साहित्यकार डा. राजेन्द्र विमलले आफूलाई समयअनुसार नेपालभित्र लगाइने जुनसुकै पहिरन लगाउँदा पनि आपत्ति नहुने बताए।
उनले भने, ‘म मधेसी समुदायको मान्छे, बक्खु पनि लगाउन सक्छु। पहिरनलाई लिएर विवाद नगरौं। तर नेपालको पहिचान ढाका टोपी, दौरासुरुवाल भएकाले यसलाई भने सबै मिलेर जोगाऔं।’
उक्त अवसरमा प्रा.डा. विद्यानाथ कोइरालाले लामो इतिहास बोकेका मुलुकको पहिरनगत पहिचान हुने भएकाले यसको मौलिकतालाई संरक्षण गर्नुपर्ने बताए। उनले कार्यक्रममा पहिचान, पोसाक र इतिहास सन्दर्भमा लामो दस्ताबेज प्रस्तुत गरेका थिए।
सोही अवसरमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेद अन्त्यका लागि पोसाकको समानताले पनि भूमिका निर्वाह गर्ने बताउँदै राष्ट्रिय पोसाकलाई हरेक सरकारी कार्यालयमा अनिवार्य गर्नुपर्ने बताए।
सम्मानित ढकाल लामो समयदेखि लेखनमार्फत कलासंस्कृतिको जगेर्नामा लागिपरेका छन्। उनका ‘एक्लै सन्ध्याको मझेरीमा’ गजलसंग्रह, ‘समालोचकीय आलोकमा यदुनाथ खनाल’ समालोचनाकृति, ‘छलाङ’ उपन्यासलगायत कृति प्रकाशित छन्।
प्रकाशित: १७ पुस २०८१ २०:३१ बुधबार