सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले घुस खान दिन्न भने पनि जनताले घुस दिइरहनु परेको दाबी गरेका छन् । शनिवार आयोजित दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्रीले कति दिन देखि भन्नुभएको छ, म पनि घुस खान्न अरूलाई नि खान दिन्न,’ मन्त्री गुरुङले भने, ‘तलका अवयवहरूले घुस खाइरहेकै छन् । जनताले घुस दिन परिरहेकै छ ।’
घुस दिन परे नपरेको कुरा जनतालाई थाहा भएको पनि मन्त्री गुरुङले बताए । उनले भने, ‘जनतालाई थाहा छ नि ! ठुलो मान्छेलाई के थाहा ? मैले घुस खाएँ भनेर कोही भन्न आउँदैन ।’ जनतालाई प्रधानमन्त्रीकहाँ भन्न जान पनि पहुँचको समस्या रहेको उनले बताए । ‘जनतालाई मैले फलानालाई घुस दिएँ भन्ने पहुँच नै छैन प्रधानमन्त्री कहाँ । हाम्रो पद्धति यस्तो छ, सामान्य मान्छे भेट्नै पाउँदैन प्रधानमन्त्रीलाई,’ मन्त्री गुरुङले भने ।
कहिलेकाहीँ प्रधानमन्त्री जिल्ला जाँदा भन्न पाउने थोरै सम्भावना रहने भए पनि त्यसलाई आफूजस्तै कार्यकर्ताले घेरेर बिगारिदिने प्रवृत्ति रहेको पनि मन्त्री गुरुङले बताए ।
‘प्रधानमन्त्री जिल्ला तिर जाँदा जनताले भन्न पाए मात्रै हो । जिल्ला तिर जाँदा पनि के हुन्छ थाहा छ ?,’ उनले भने, ‘मै जस्ता कार्यकर्ताले घेरेर आमजनतालाई भेट्नै दिँदैनौँ । कहाँ हुन्छ त्यो कांग्रेसलाई भोट हाल्ने वाला हो, माओवादीलाई भोट हाल्ने वाला हो, त्यो हामीलाई कहिल्यै कहिल्यै हाल्ने वाला हो । यस्तरी छिचोल्दिन्छौ ।’ जनताको खास कुरामा राज्यको पहुँच नै हुन नसकेको मन्त्री गुरुङले बताए ।
प्रकाशित: २० पुस २०८१ १४:०९ शनिबार