नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावल शनिवार कोसी प्रदेशको राजधानी विराटनगर पुगेका छन् । ‘मातृभूमि जागरण अभियान’ नामक देश दौडाहा अभियानसहित रावल विराटनगर पुग्दा उनको स्वागतमा राजावादी देखि नेकपा एकीकृत समाजवादीका कार्यकर्ताको भिड विमानस्थलसम्म पुग्यो ।
रावल विमानस्थल पुग्दा विशेष गरी पछिल्लो समय पूर्व राजाको पक्षमा अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका कार्यकर्ता स्वागतमा पुगेको बताइएको छ । जसमा उनीहरूले ‘जय देश, जय नरेश’को नारा समेत लगाएका छन् ।
राजावादीहरू रावलको स्वागत गर्न राष्ट्रिय झन्डासहित पुगेका थिए । यद्यपि प्रहरीले विमानस्थल परिसरमा झन्डा लैजान दिएन ।
यस्तै रावलको स्वागतमा एकीकृत समाजवादीका नेता वसिम आलम नेतृत्वको समूह पनि विमानस्थल पुगेको बताइएको छ । आलम नेकपा एसका समाजवादीका केन्द्रीय सदस्य हुन् ।
रावलले विराटनगर पुगेर पनि एमाले ‘बामाले’मा परिणत भएको टिप्पणी गरे ।
यस्तै रावलले अब आफू कम्युनिस्ट विचारधारामा मात्र सीमित नभई मातृभूमिको रक्षाका लागि सबै खाले देशभक्तलाई जोडेर अभियान थाल्ने दाबी गरे । जसमा कम्युनिस्ट, गैर–कम्युनिस्ट र राजवादी सबै अटाउने प्रतिक्रिया दिए ।
प्रकाशित: २० पुस २०८१ १४:२६ शनिबार