४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपचुनावमा जनताले पुराना दलको विकल्प पाएनन् : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्थानीय तहका उपनिर्वाचनको परिणाम पुराना दलको विकल्प तयार नहुनुको नतिजा भनेका छन्। उनले उपचुनावमा जनताले नयाँ विकल्प खोजेको भएपनि नपाउँदा पुरानालाई छान्न बाध्य भएको टिप्पणी गरेका हुन्। 

स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनले शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको उपनिर्वाचनका लागि सबैलाई बधाइ पनि दिए।  

भट्टराईले लेखेका छन्,‘दुइ वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ। साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्कोको विकल्प बनेका छन्। यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।’ 

उनले अगाडि लेखेका छन्, ‘नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालाई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्छ। अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन्।’

मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ। यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ। माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ। 

उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन्। 

प्रकाशित: १८ मंसिर २०८१ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App