१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिकैचा उपनिर्वाचन: दलहरुले सुरु गरे आ–आफ्नो अंकगणित,यस्तो थियो २०७९ को निर्वाचन अवस्था

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ को वडाध्यक्ष उपनिर्वाचनका लागि ५ राजनीतिक दलले उम्मेदवारी दर्ता गरेसंगै दलहरुले मतदाताको अंकगणित समेत सुरु गरेका छन् ।  

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज(बिपिन)दुलाका अनुसार सिकैचामा अहिले एक हजार पाँच सय २८ मतदाता छन् । 

दुई मतदानस्थल रहेको सिकैचाको कुञ्जारी मतदान स्थलमा एकहजार २६ मतदाता छन्।ओसे मतदानस्थलमा पाँचसय दुई मतदाता रहेका छन् । सिकैचाको उपनिर्वाचनमा आठ सय ४४ पुरुष र छ सय ८४ महिला मतदाता छन्। २०७९ सालमा कुञ्जारी मतदान स्थलमा नौ सय ९४ तथा ओसे मतदान स्थलमा पाँच सय २९ गरी कूल एकहजार पाँच सय २३ मतदाता थिए।

अहिलेको उपनिर्वाचनका क्रममा पाँचजना मतदाता मात्र थपिएको देखिएको छ।मतदाता तुलनामा गर्दा २०७९ सालभन्दा अहिलेको उपनिर्वाचनका लागि कुञ्जारी मतदान स्थलमा ३२ जना मतदाता बढेका छन् भने ओसे मतदान स्थलमा २७ जना मतदाता घटेका छन्।

२०७९ सालको निर्वाचनमा काँग्रेस,माओवादी केन्द्र र नेकपा एस सहितको गठबन्धन थियो । एमाले र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक्ला एक्लै लडेका थिए।अहिले नेकपा एसले उम्मेदवारी दिएन भने २०७९ सालमा उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी मैदानमा छ।उ बेला गठबन्धनमा लडेका काँग्रेस र माओवादी केन्द्रले आ–आफ्नै उम्मेदवार खडा गरेका छन्। 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेत उम्मेदवारी दिएको छ।सबैको उम्मेदवारी कायम रहे त्यहाँ काँग्रेस,एमाले,माओवादी केन्द्र,राश्वपा र राष्ट्रिय मञ्चबिच प्रतिश्पर्धा हुने छ। माओवादी केन्द्र र नेकपा एस सहितको गठबन्धन रहेको बेला २०७९ सालको उपनिर्वाचनमा काँग्रेस उम्मेदवार दिलप्रसाद बोखिम एमाले उम्मेदवार कुमारी साउदेनलाई चार मतान्तरले पराजित गरी वडाध्यक्षमा निर्वाचित भएका थिए।

उ बेला काँग्रेस उम्मेदवार बोखिमले चार सय तीन तथा एमाले उम्मेदवार कुमारी साउदेनले तीनसय ९९ मत ल्याएकी थिईन् । काँग्रेसले बोखिमको ठाउँमा भीमकुमार लक्सम्बालाई उम्मेदवार बनाएको छ।एमालेले यसअघि बाखिमसंग चार मतान्तरले पराजित साउदेनलाई नै दोहो¥याएर उम्मेदवार बनाएको छ।

माओवादी केन्द्रले वडा सदस्यबाट राजिनामा गराएर अम्बि साउदेनलाई उम्मेदवार बनाएको छ । साउदेन २०७९ सालको निर्वाचनमा तीनसय ६५ मत ल्याएर वडा सदस्यमा बिजयी भएका थिए।अम्बिको घर र कुमारीको माइती ओसे हो । कुमारी घर चाँही कुञ्जारी हो । चेली माइती रहेका उनीहरु प्रतिश्पर्धी बनेका छन्।राश्वपा उम्मेदवार देवीप्रसाद पौडेलको घर पनि यही भएकोले यसपटक ओसेका मतदाता सबैको तानातानमा पर्ने देखिएको छ। 

काँग्रेस उम्मेदवार लक्सम्बा कुञ्जारीका हुन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र काङ्वा लिम्बू वरक्पाका हुन्।गठबन्धन सहितको चुनावी भीडन्त रहेको २०७९ सालको निर्वाचनमा वडाध्यक्ष काँग्रेसले जित्दा एक सदस्य एमालेले र बाँकी तीन सदस्य माओवादी केन्द्रले जितेको थियो।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वडाध्यक्षका उम्मेदवार हस्तबहादुर काङवाले ३९ मत ल्याएका थिए । एमालेका चन्द्रवीर मादेनले तीनसय ६६ मत ल्याएर वडा सदस्यमा निर्वाचित भएका थिए।

यस्तै माओवादी केन्द्रका सीता भट्टराईले चारसय मत र भक्तिमाया कालिकोटेले तीनसय ९४ मत ल्याउँदा उनीहरुका प्रतिश्पर्धी एमालेका क्रमशःमञ्जु इदिङगो लिम्बूले तीनसय ७९ र हर्कमाया विकले तीनसय ७८ मत ल्याएका थिए।सो निर्वाचनमा माआवादी केन्द्रका बलबहादुर मादेनले दुई सय ८७,नेकपा एसका गणेशकुमार यवागु लिम्बूले एकसय १९,लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र काङ्वा लिम्बूले एकसय आठ,तारा बोखिमले ५२ मत र मेनुका लिम्बूले ४५ मत ल्याएका थिए।

आफ्ना पार्टीका वडाध्यक्षका उम्मेदवार हस्तले ३९ मत ल्याउँदा सदस्यमा झण्डै तीनगुणा बढी मत ल्याएका राजेन्द्र अहिले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वडाध्यक्षका उम्मेदवार छन्। त्यही भएर यो निर्वाचनमा निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

प्रकाशित: ३ मंसिर २०८१ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App