१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

भक्तपुरलाई नजिकबाट हेर्ने मन छ ? मंसिर २८ देखि पुस २ गतेभित्र भक्तपुर आउनुस्

आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म ५ दिन भक्तपुर महोत्सव हुने भएको छ । महोत्सवमा भक्तपुरका सम्पूर्ण जीवनशैलि हेर्न पाइने जनाइएको छ ।

महोत्सवमा भक्तपुरमा रहेका कला, संस्कृति, नाचगान, बाजा, परम्परा, रहनसहन हेर्न पाइने जनाइएको हो । साथै महोत्सवको क्रममा खाना, जुजु धौ (दही) को प्रदर्शन तथा स्वाद पनि चाख्न पाइने जनाएको छ । महोत्सवको क्रममा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडाका टोलटोलहरुमा विभिन्न प्रदर्शनीहरु रहने जनाइएको छ ।

महोत्सवको क्रममा नगरको लायकु, क्वाठण्डौ, दतात्रय र टौमढीमा साँंस्कृतिक कार्यक्रम हुने जनाइएको छ । तव सत (पाटी):, लायकु र वाँंचु त्वमा तस्वीर प्रदर्शनी, च्यासिंमण्डप र लायकुमा नगरा वादन, लायकु, थथुबही र कुथुवहीमा चित्रकला, छ्वालीकला, तस्वीर र पौभा, लायकु फसीदेग पछाडि परम्परागत पोशाक प्रदर्शनी हुने जनाइएको छ । साथै तुलाछें, यातुवारे पुखु कमलविनायकमा खाना महोत्सव हुने जनाइएको छ । 

साथसाथै भुलाछेंमा परम्परागत बाद्यवादनको प्रदर्शनी, नागपुखु र थालाछेंमा परम्परागत धागो रंगाउने, प्रशन्नशील महाविहारमा क्वाठण्डौंमा कुमारी (जीवित देवी) प्रदर्शनी हुने जनाइएको छ । यसरी नै दीपंकर बुद्धको प्रदर्शनी, नवदुर्गाको प्रदर्शनी, नौका विहार, परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, नेवार जीवनशैलिको गतिविधिको प्रदर्शनी, नौबाजा प्रदर्शनी, दीपावलीलगायतका गतिविधि हुने जनाइएको छ । कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी, कुखुरा एवं अण्डा महोत्सवलगायतका गतिविधिहरु पनि महोत्सवको क्रममा नगरका टोलटोलमा हुने जनाइयो ।

महोत्सव सफलतापूर्वक सम्पन्न गर्न यसअघि नै नगर प्रमुख सुनील प्रजापतिको संयोजकत्वमा एक सय ६१ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको पहिलो बैठकमा संयोजक एवं नगर प्रमुख प्रजापतिले  “भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिंगो भक्तपुरका जनताको महोत्सव भएको बताए । भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना गर्न लागेको उनले बताए । उनले महोत्सवले भक्तपुर नगरबासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेशा र व्यवसायीहरुलाई सहयोग हुने अपेक्षा गरिएको पनि बताए ।

महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न गठन १३ वटा समिति, उपसमितिहरु गठन गरिएको जानकारी पनि त्यस अवसरमा गराइयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद बुढाथोकीलगायतले पाँचदिने महोत्सवलाई भव्यताका सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेको खाँंचो औल्याए । कार्यक्रममा महोत्सव मूल समितिका सचिव गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गरेका थिए ।  

प्रकाशित: ९ कार्तिक २०८१ १७:५७ शुक्रबार

#Bhaktapur Municipality #भक्तपुर महोत्सव