७ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

गुनासो आउन नदिने गरि काम गरौं: मन्त्री न्यौपाने

<br>

लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशको औचित्य पुष्टि गर्ने दायित्व कर्मचारीहरूको अहम् रहने बताएका छन्।

उनले प्रदेशको औचित्य पुष्टि गर्ने गरि काम गर्न निर्देशन समेत दिए। मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयको पहिलो त्रैमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले प्रदेशलाई समृद्ध बनाएर यसको औचित्य पुष्टि गर्ने दायित्व र भूमिका अहम् रहने बताए।

‘प्रदेशको समृद्धिका लागि कर्मचारीहरूको भूमिका अति महत्त्वपूर्ण रहन्छ,’ मन्त्री न्यौपानेले भने ‘आ-आफ्नो भूमिका र जिम्मेवारी प्रति प्रतिबद्ध रहेर सबैले काम गरौं, प्रदेशमा अपेक्षित नतिजा हासिल गर्न सकिन्छ।’

कार्यक्रममा सहभागी यातायात व्यवस्था कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलाई आम नागरिकबाट कुनै पनि गुनासो नआउने वातावरण निर्माण गरेर काम गर्न निर्देशन दिए।

यातायात कार्यालयबाट प्रदान हुँदै आएको सेवा सुविधा प्रति आम नागरिकको गुनासो रहेको भन्दै मन्त्री न्यौपानेले आम नागरिकबाट कुनै पनि गुनासो आउने गरि सेवा प्रवाहको व्यवस्थापन मिलाउन निर्देशन दिए।

‘यातायात कार्यालयबाट प्रवाह भइरहेको सेवा सुविधा सहज रुपमा नआएको भनेर सेवाग्राहीबाट गुनासाहरू आइरहेका छन्,’ मन्त्री न्यौपानेले भने, कार्यालयबाट प्रवाह भइरहेको सेवा सुविधा सहज रुपमा कसरी प्रवाह गर्न सकिन्छ भन्ने बिषयमा योजना बनाऔं, यसका लागि देखिने प्राविधिक समस्या केही छन् भने मन्त्रालय र कार्यालयबिच बलियो समन्वय गरौं, र सहज सेवा प्रवाहका लागि ठोस योजनाका साथ काम गरौं।’

यसैगरी उद्योग तर्फका कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री न्यौपानेले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गरेर कसरी उद्योगलाई चलायमान बनाउन सकिन्छ भन्ने बिषयमा अध्ययन गर्न आग्रह गरे।

अहिले नयाँ उद्योग दर्ताको क्रम भएको भन्दै मन्त्री न्यौपानेले कैयन उद्योगहरू बन्द समेत भएको तर्फ गम्भीर बन्नु पर्नेमा जोड दिए।

मन्त्री न्यौपानेले रुग्न उद्योगहरूलाई चलायमान बनाउनका लागि के गर्न सकिन्छ भन्ने बिषयमा अध्ययन गर्न समेत निर्देशन दिए।

रुग्न उद्योगहरूलाई सञ्चालन गर्नका लागि सरकारले सहायता प्रदान गर्न सकिने विषय उल्लेख गर्दै मन्त्री न्यौपानेले भने ‘यस्ता उद्योगहरूका बारेमा अध्ययन गरौं, र के गर्दा रुग्न उद्योगहरूलाई चलायमान बनाउन सकिन्छ ? यसबारेमा सोचौँ।’

कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरूले तीन महिनाका प्रगति विवरण पेस गरेका थिए।

प्रकाशित: ७ कार्तिक २०८१ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App