५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

राजदूत घिमिरे चिया उद्योग हेर्न इलाममा

इलामको जस्बिरे चिया उद्योगमा तयारी चिया अवलोनकन गर्दै बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरे (हरियो ज्याकेटमा) । तस्बिर : भीम चापागाईं/नागरिक

बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले इलामको जस्बिर अर्गानिक चिया प्रशोधन उद्योगको निरीक्षण गरेका छन् । गत महिना काठमाडौंमा आयोजित प्रतिस्पर्धामा देशकै उत्कृष्ट चिया उत्पादक घोषित भएका सरद सुब्बाको उद्योगमा राजदूत घिमिरे आएका हुन् ।  

उनले नेपालको तयारी चिया बेलायत निर्यात गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म यसको पहुँच पुर्‍याउन आफूले पहल गर्ने बताए । व्यवसायी तथा चिया प्राविधिक सरद सुब्बाले राजदूतको भ्रमणले आफूहरू उत्साही भएको जनाए । ‘अहिले त अन्तर्राष्ट्रिय बजार ठीकै छ तर कहिलेकाहीं नीतिगत समस्याले चिया निर्यातमा हैरानी खेप्नुपर्छ,’ सरदले भने, ‘नेपालको अर्गानिक अर्थाेडक्स चिया बेलायतमा विक्रीका लागि पहल गर्ने राजदूतले बचन दिनुभएको छ । हामी उत्साही छौं ।’  

इलाम नगरपालिका–४, जस्बिरेमा रहेका उद्योगमा अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुन्छ । गत भदौमा काठमाडौंमा आयोजित ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा सदर सुब्बा ‘बेस्ट टी मेकर’ घोषित भएका थिए । ‘कोठीडाँडा ब्युटी’, ‘सुनकेसरी’, ‘ऐंसेलुखर्क’, ‘रेडपान्डा’लगायत नाममा यहाँको चिया डेनमार्क, चीन, अमेरिका, रुस, फ्रान्स र नेदरल्यान्ड निर्यात हुनेगरेको छ । उद्योगमा ह्वाइट, ब्ल्याक, गोल्डेन, ओलङ र ग्रिन टीलगायत विभिन्न ३५ प्रकारका तयारी चिया उत्पादन गर्ने गरिएको उनले जनाए ।

सुब्बाका अनुसार चियालाई गुणस्तरीय बनाउन हरियोपत्ती टिपाइदेखि त्यसको संकलन, भण्डारण, ढुवानी, सुकाउने समय, मेसिनमा गरिने रोलिङलगायत सबैतिर ध्यान दिनुपर्छ । सरद भन्छन्, ‘गुणस्तरीय चिया बनाउन मिनेट होइन, प्रत्येक सेकेन्टको महत्व हुन्छ ।’  

व्यवसायीका अनुसार कोभिड संक्रमणपछि अहिले नेपाली अर्थाेडक्स अर्गानिक चिया तेस्रो मुुलुकमा राम्रो माग भइरहेको छ । सुब्बा यो वर्ष तयारी चियाको माग राम्रो आएको बताउँछन् । ‘विदेशी व्यापारीले मागेको चियाको परिमाण पु¥याउन सक्ने अवस्था छैन,’ सुब्बाले भने, ‘हाम्रो उद्योगमा उत्पादन हुनेभन्दा दोब्बरको माग छ । सुइरोबाट बन्ने चिया त मागअनुसार दिनै नसक्ने अवस्था छ ।’  

इलामकै फाकफोकथुमस्थित तीनजुरे चिया कारखानामा पनि यो वर्ष चियाको माग बढेको कारखानाले जनाएको छ । २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखाना व्यवस्थापक दिनेश श्रेष्ठले बताए । गतवर्ष १३ हजार किलो चिया उत्पादन गरेको कारखानाले यो साल कोरिया र नेदरल्यान्डमा पनि तयारी चियाको नमुना पठाएको उनको भनाइ छ । साखेजुङस्थित ग्रिनहिल चिया उद्योगका सञ्चालक टंक दाहालले यो वर्ष आठ हजार किलो चिया विदेश पठाएको माग राम्रो आएको बताए ।  

आर्थिक वर्ष २०८०÷०८१ मा तीन अर्ब १६ करोड ३८ लाख रुपैयाँको तयारी चिया मेची भन्सार कार्यालयमार्फत् निकासी भएको तथ्यांक छ । एक करोड ३४ लाख ३३ हजार आठ सय ५८ किलो चिया निकासी भएको कार्यालयको विवरण छ ।  

प्रकाशित: ४ कार्तिक २०८१ १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App