२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

परदेशदेखि पोषणसम्म

उद्यम

विदेशको हरेक बिहानी फूलमायाका लागि परीक्षा थियो - धैर्य, इमानदारी र आत्मसम्मानको। सन् २०१२ मा रोजगारीको खोजीमा कोरिया पुगेकी उनी पाँच वर्षपछि खाली हात होइन, मेहनतको मूल्य बोकेर फर्किन्।

नेपाल फर्केकी उनीसँग केवल अनुभव मात्रै थिएन, मेहनतबाट सिकेको अनुशासन र इमानदारीको अमूल्य व्यवहार थियो। त्यसपछि उनको जीवनले अर्को सुन्दर मोड लियो । उनी आमा बनिन्। एक छोरा र एक छोरीको आगमनसँगै उनका दिनहरू काखमा बालबच्चा खेलाउँदै बित्न थाले।

झन्डै आठ वर्षसम्म उनले आफ्ना सन्तानलाई नै प्राथमिकता दिइन्। परदेशको व्यस्तता छोडेर मातृत्वको संसारमा डुबेकी फूलमायाको जीवन त्यति बेला फेरि गहिरो प्रश्नसँग जुध्न पुग्यो, जति बेला उनका बच्चा ६ महिनाका भए। बच्चा जन्मिएको ६ महिनापछि पूरक आहार सुरु गरिन्छ।

आफ्नो बच्चाका लागि बजारबाट ल्याएको खानेकुरामा उनी सन्तुष्ट नहुँदा दुःखी हुँदै गएको बताउँछिन्। ‘हाम्रो समाजमा ६ महिनापछि बच्चालाई खाना खुवाउने गरिन्छ। घरमै लिटो बनाउन झन्झटिलो प्रक्रिया भएकै कारण मैले पनि बजारमा पाइने लिटो किन्न थाले,’ सोलुखुम्बुमा जन्मिएकी फूलमायाले भनिन्, ‘विश्वाससाथ किनेको लिटो बच्चालाई खुवाएपछि बान्ता हुने, नपच्नेजस्ता समस्या देखिन थाल्यो। त्यसपछि मेरो मन यसै छटपटिएर आयो।’

सोही लिटो आआफ्नो बच्चालाई खुवाउँदै आएका आमा समूहहरूसँग बुझ्दा सबैको साझा समस्या भएको उनले बताइन्।

यो समस्या उनको बच्चाको मात्र रहेनछ। बजारबाट किनेको लिटो खुवाउँदा अरू धेरै बच्चाले पनि यस्तै समस्या भोगिरहेका रहेछन्। यही क्षणले फूलमायाको सोच बदल्यो।

सानो बच्चा हुर्काइरहेकी आमाका रूपमा फूलमायाको प्रेरणाको स्रोत उनका आफ्नै अनुभव हुन्। आमाको हातले बनाएको खाना जति सुरक्षित र निःस्वार्थ अरू केही हुँदैन भन्ने विश्वासले उनलाई अघि बढायो। ‘बच्चाको खानामा खेलबाड हुनुहुँदैन,’ उनले मनमनै दृढ निश्चय गरिन्।

त्यसपछि उनी आमाबाट उद्यमी बन्ने निर्णय गरिन्। आमाको काखबाट सुरु भएको स्वाद नै भविष्यको आधार बन्यो। त्यही स्वाद स्वस्थ, सुरक्षित र प्रेमले भरिएको होस् भन्ने चाहना बोकेर काठमाडौंकी फूलमायाले आफ्नो उद्यमी यात्राको थालनी गरेको नागरिकसँग बताइन्। उनले आमाहरूको अनुभव सुन्दै, खोजअनुसन्धान गर्दै नेपालमै सुरक्षित, गुणस्तरीय र विश्वासिलो लिटो बनाउने सोच अघि बढाइन्।

सन्तुलित आहार भनेको क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, मिनरल्स, भिटामिन पर्याप्त मात्रामा र अनुपातमा विभिन्न प्रकारका खानेकुराहरू समावेश गर्ने आहार हो । त्यसैले मूल्यभन्दा पनि खाद्यान्नको गुणस्तर मूल्यांकन गर्दा पौष्टिक तत्त्वको तुलना गर्नु आवश्यक छ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग र बाल पोषणसम्बन्धी मापदण्डअनुसार उनले लिटो उत्पादन सुरु गरेको बताइन्। संरचना, सामग्री र प्रक्रिया सबै कुरा गुणस्तर विभाग अनुसार नै रहेको फूलमायाले नागरिकसँग बताइन्। लगानी योजना, ग्राहक वर्गको पहिचान, मूल्य निर्धारण, बजारको माग, यी सबै पक्षमा उनले व्यावहारिक ज्ञान हासिल गरिन्।

‘स्वच्छता मेरा लागि पहिलो सर्त थियो,’ नागरिकसँग उनले भनिन्, ‘युबिआई प्लास्टिक प्रयोग गरेर विशेष संरचनाको घर निर्माण गरे। सूर्यको प्रत्यक्ष किरणबाट हुने विकिरण र प्रदूषणबाट बच्न प्लास्टिक संरचना प्रयोग गरेको छु। जहाँ गेडागुडी सुकाइन्छ। त्यसभित्र गेडागुडीहरू पूर्ण रूपमा हाइजेनिक तरिकाले राखिन्छ।’

उनका उत्पादनहरू आमाको मायाजस्तै सरल, शुद्ध र विश्वसनीय छन्। व्यवसाय केवल चलाउने काम मात्र होइन, दीर्घकालीन दृष्टिकोणसहित अघि बढाउनुपर्ने जिम्मेवारी हो भन्ने बुझाइ फूलमायाको छ।

अहिले प्याकिङ, ब्रान्डिङ, गुणस्तर परीक्षणजस्ता प्राविधिक कार्यहरूमा उनी व्यस्त छिन्। भरपर्दो बजार प्रणाली र प्रभावकारी मार्केटिङ सञ्जालको अभावले उत्पादनलाई प्रतिस्पर्धी र दिगो बनाइराख्नु अझ कठिन छ तर धैर्य, निरन्तरता र सन्तानप्रतिको जिम्मेवारीले आफूलाई हरेक चुनौती पार गर्न प्रेरित गरिरहेको उनी बताउँछिन्।

उनका अनुसार बच्चाका लागि लिटो मात्र होइन, बुढापाकाका लागि पनि सातु उत्पादन सुरु गरिरहेको छु। फूलमायाको सोच यहीं मात्र रोकिएन। उनको अर्को योजना अझै महत्त्वपूर्ण छ। साना बच्चालाई खुवाउन मिल्ने गरी ‘बेबी फिस पाउडर’ बनाउने योजनामा उनी छिन्। माछाबाट पाइने प्रोटिन, क्याल्सियम र आवश्यक मिनरल्स बच्चाको विकासका लागि अत्यन्त उपयोगी हुने भएकाले यो उत्पादन पूर्ण रूपमा हाइजेनिक बनाइने उनले बताइन्।

‘आजभोलि १३–१४ वर्षका बच्चाहरूले पनि काँडा हुन्छ भनेर माछा खान गाह्रो मान्छन्,’ उनले नागरिकसँग भनिन्, ‘त्यसैले अहिलेको पुस्तालाई सजिलै पोषण दिन यो विकल्प आवश्यक छ।’

बेबी फिस पाउडर आगामी वर्ष बजारमा ल्याउने उनको योजना छ। त्यति मात्रै नभएर तातो पानीमा घोलेर सेवन गर्न मिल्ने स्यार्लिक्स बनाउने योजनामा नजिक पुगेको बताउँछिन्।

उनको उद्यमले केवल बच्चा तथा बुढापाकालाई पोषणयुक्त खानेकुरा मात्रै बनाउने काम गरेको छैन, रोजगारी पनि सिर्जना गरेको छ। हाल आफू स्वयंसहित आठ जनाले यस उद्योगमा काम गरिरहेको नागरिकसँग उनले बताइन् । गेडागुडी केलाउने, उत्पादन प्रक्रिया, न्युट्रेसन हेर्ने, मार्केटिङ गर्ने सबै जिम्मेवारी छुट्टाछुट्टै हातमा रहेको उनी सुनाउँछिन्।

उनका अनुसार नेपाल फर्किएपछि महिला उद्यमीका रूपमा व्यवसाय सुरु गर्नु सहज थिएन। महिलाहरूको जीवनमा घरेलु जिम्मेवारीले अधिकांश समय ओगट्छ। करिब ७० प्रतिशत समय घरपरिवारमै बित्छ। बाँकी सीमित समयभित्र सपना बुन्नु र व्यवसायको आधार खडा गर्नु आफैंमा ठुलो चुनौती रहेको उनले नागरिकसँग बताइन्।

यसरी वैदेशिक रोजगारबाट फर्किएकी एक महिलाले नेपालमै अरूलाई पनि रोजगार दिएर काम गर्न सक्ने क्षमता भएको उदाहरणमा उनी उभिएकी छन्। फूलमायाको यात्रा केवल व्यावसायिक सफलताको कथा होइन। यो आमाको संवेदना, चिन्ता र जिम्मेवारीबाट जन्मिएको अभियान पनि हो।

कोरियामा अन्डा प्याकिङबाट सुरु भएको उनको यात्रा आज आफ्नै देश, आफ्नै माटोमा आमाको माया जस्तै शुद्ध र सुरक्षित खानाको पहिचान बनाउँदै अघि बढिरहेको छ। आमाको काखबाट सुरु भएको यो स्वाद आज बच्चा तथा बुढापाका भएका धेरै घरहरूमा पुगिरहेको छ।  

प्रकाशित: १२ पुस २०८२ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App