२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

'वरिष्ठ हुनु भनेको कपाल फुल्नु र उमेर मात्र बढ्नु हो भन्ने गलत भाष्य सत्तापक्षले स्थापित गर्न खोज्दै छ'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले रोलक्रम अनुसार वरिष्ठ हुनु भनेको कपाल फुल्नु र उमेर मात्र बढ्नु हो भन्ने खालका गलत भाष्य सत्तापक्षले स्थापित गर्न खोजिरहेको बताएकी छन्। जुन गलत भएको उनको भनाइ छ।

उनले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको बताएकी छन्। आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेकी छन्, 'के हो वरिष्ठता? रोलक्रम अनुसार वरिष्ठ हुनु भनेको कपाल फुल्नु र उमेर मात्र बढ्नु हो भन्ने खालका गलत भाष्य सत्तापक्षले स्थापित गर्न खोज्दै छ, जुन गलत छ। वरिष्ठता त संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णयक्षमता, कार्यसम्पादन र संस्थाप्रतिको विश्वासको समष्टिगत समजोड मापदण्ड हो। तर आज सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्तिकेन्द्रित बनाइँदै छन्।'

उनले सुधारको नाममा राज्यका संस्थाहरूबाट स्थापित प्रक्रिया र संस्थागत मर्यादामाथि हस्तक्षेप भइरहेको दाबी गरिन्। उनले लेखेकी छन्, ‘स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघातक र खतरनाक दिशातर्फ अगाडि बढ्दै छ।’

प्रमुख सचेतक ओलीले वरिष्ठताको स्थापित रोल क्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाले संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको बताइन्। विधि, प्रक्रिया र संस्थागत मर्यादा कायम गर्ने दाबी गर्ने सरकारले आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको उनको भनाइ छ।

उनले भनिन्, ‘सरकारले, वरिष्ठताको स्थापित रोल क्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाले देशका विभिन्न संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको छ। विधि, प्रक्रिया र संस्थागत मर्यादा स्थापित गर्ने दाबी गर्ने सरकारले फेरि एक पटक आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको छ। राज्य प्रणालीमा विधिभन्दा अधिनायकवाद निर्णायक बन्दै गएको सन्देश यस कदमले प्रवाह गरेको छ।दुर्भाग्य, फेरि एक पटक थिति बसाल्ने अवसर गुमाइएको छ।’

प्रकाशित: २५ वैशाख २०८३ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App