१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

मिथिला आस्थाको स्वरूप ‘डिहबार थान’

आस्था

मिथिला र मधेस क्षेत्रका सबैजसो गाउँमा डिहबार थान अनिवार्य हुन्छ। डिहबारको स्थान (थान) गाउँको दक्षिणी दिशामा वा गाउँको सिमानाको अन्त्यमा अवस्थित हुन्छ। डिहबार थानलाई राजाजी थान, ब्रह्म स्थान पनि भनिन्छ।

प्राचीन इतिहासमा राज्य र राजा हुने परम्परा थियो तर, समय परिवर्तनसँगै केही अपवादबाहेक विश्वका लगभग सबै देशमा राजा हुने परम्परा इतिहासमा सीमित भएको छ। यद्यपि मिथिलाका गाउँहरूमा अझै पनि डिहबारलाई राजाको प्रतीकका रूपमा पूजा गरिन्छ।

डिहबारलाई गाउँको राजाका रूपमा पूजा गर्ने परम्परा पुस्तौंदेखि चल्दै आएको छ। मिथिला र मधेसका गाउँहरूमा राजा डिहबार वर वा पिपलको रूखमुनि एकान्त ठाउँमा बस्छन्। रुखमुनि, माटोको गोलाकार शरीर बनाइन्छ। त्यसलाई आस्तिकहरूले राजा डिहबारका रूपमा पूजा गर्छन्।

राजा डिहबारसँगै स्थानीयले भगवती, जोगनी, डगरिन र गोरैयाजस्ता देवीदेवताको पनि पूजा गर्छन्।

धेरै ठाउँमा डिहबारको मूल पिँढीको सुरक्षाका लागि साना कंक्रिटका घरहरू बनाइँदै छ तर एक दशक अघिसम्म मिथिला र मधेसका डिहबार थानहरू वर वा पिपलको रूखमुनि खुला ठाउँमा हुन्थ्यो।

गाउँमा कुनै पनि दुष्टता वा महामारीको संकेत देखेमा, गाउँलेहरू राजा डिहबारकहाँ जान्छन् र बिन्ती बिसाउँछन्। त्यसपछि डिहबार खुसी हुन्छ र अप्रिय साम्य पार्ने लोकविश्वास छ।

कुनै पनि शुभ कार्यको सुरुवात होस् वा आपतकालीन अवस्था, गाउँको देवता डिहबारलाई स्मरण र पूजन गर्ने परम्परा छ। मिथिला क्षेत्रका महिलाले डिहबारको सम्झनामा यस्ता गीत गाउँछन्–

‘घोडबा चढ्ल राजाजी, हलसैत आबै यौ, अहाँ राजाजी बाबु,

हाथ दुनु कमलक फूल, यौ अहाँ राजाजी बाबु,

कवने नैया डुबए, कवने नैया उगए,

कवने नैया उतरत पार यौ, अहाँ राजा जी बाबु।’

ग्रामीण जीवनमा डिहबारको छुट्टै महत्त्व छ। गाउँमा विवाहको समय सुरुवात हुँदा पनि डिहबार बाबाको विशेष महत्त्व हुन्छ। सफल विवाहका लागि कुमरौण (मटकोर) को दिन घरको मूल व्यक्ति डिहबार थानामा गएर पूजा गर्ने परम्परा छ।

त्यसपछि विवाहका लागि आवश्यक कार्यहरू तयार गरिन्छ र ढोल, पिपही आदि जस्ता परम्परागत र मौलिक वाद्यवादनसहित डिहबार थानमा गएर पूजा गर्ने परम्परा छ।

डिहबार बाबाले दुष्टता र अनिष्टताबाट मुक्त गर्छन् भन्ने विश्वास गरिन्छ। डिहबारलाई पूजा गरेपछि, दुलहा र दुलही परम्परागत वैवाहिक विधि सुरुवात गर्छन्।

विवाह हुने गाउँ वा बस्तीमा प्रवेश गर्नुअघि अर्थात् सीमामा प्रवेश गर्ने समयमा, गाउँका युवा, महिला र पुरुषहरूले दुलहालगायत दुलही पक्षलाई सुपारीका लागि रोक्छन्।

दुलही पक्षका मानिसहरूलाई सुपारी, छोकडा, बदाम आदि दिएपछि मात्र उनीहरूले आफ्नो गाउँको डिहबारलाई दण्डवत् र बस्तीमा प्रवेश गर्न दिन्छन्। यो कार्यलाई स्थानीय भाषामा गोडलग्गी भनिन्छ।

त्यसैगरी नयाँ दुलही पहिलो पटक आफ्नो ससुराली जानुअघि सीमामा पुगेपछि ‘हे बाबा डिहबार, म आजसम्म तपाईंको छातामुनि हुर्केको छु, तर आज म यो ठाउँ छोडेर कर्मघर जाँदै छु। अज्ञानतामा मैले गरेका गल्तीलाई क्षमा गर्नुहोस् र मलाई सुखी जीवनका लागि आशीर्वाद दिनुहोस्’ भनेर नवदुलही डिहबार बाबालाई बिन्ती गर्छिन्।

डिहबारलाई सम्झेर महिलाहरूले घरबाट ल्याएको लोटामा भरिएको पानी दुलहीलाई पिलाउने परम्परा मैथिली समाजमा अझै पनि प्रचलित छ।

आफ्नो श्रीमान्को घरमा प्रवेश गर्नुअघि नवदुलहीले गाउँका देवता डिहबारलाई प्रार्थना गर्छिन्, ‘अबदेखि म तपाईंको शरणमा आएकी छु, कृपया मलाई रक्षा गर्नुहोस्।’

त्यस्तै थारु समुदायमा डिहबार थानाको विशेष महत्त्व छ। विवाहका लागि आएका दुलहा र दुलही परम्परागत बाजागाजासहित डिहबार थानमा गएर पूजा गर्छन्। यसलाई थनलग्गी भनिन्छ। यहाँ परेवाको बलि चढाउने परम्परा छ।

प्रत्येक वर्ष आषाढ पूर्णिमाको रात डिहबार थानामा विशेष पूजा गरिन्छ। यसलाई स्थानीय भाषामा जात पूजा भनिन्छ।

कीर्तनिया मण्डलीसँगै ढोलक, पापही, डफरा, बौसालीलगायतका पौराणिक लोक वाद्ययन्त्रहरू बजाउँदै लड्डु, फलफूल, पान, सुपारी, खिर आदि प्रसादका रूपमा चढाइन्छ।

गाउँको प्रमुख व्यक्ति, मैनजन (मान्यजन) र डिहबार थानका मुख्य पुजारी (भागता) ले घरघरबाट चन्दा संकलन गर्छन् र सम्पूर्ण सामग्री जुटाउँछन्।

पूजाका लागि डिहबार थानामा लड्डु, पान, सुपडी, अक्षता र फूल लैजाने परम्परा पुस्तौंदेखि चल्दै आएको छ।

डिहबार शाकाहारी भएकाले बलिदान निषेध गरिएको छ। यद्यपि, डिहबारथानको आँगनमा अवस्थित देवी भगवतीको अगाडि बोका, भेडा, परेवा आदिको बलि चढाइन्छ।

त्यो पूजामा धामीको उपस्थिति अनिवार्य हुन्छ। गाउँमा कुनै पनि अनिष्ट नहोस् भन्ने कामनाका साथ धामीले तान्त्रिक पूजा गर्छन्।

गाउँमा काल वा कुनै पनि प्रकारको दुष्टता, अनिष्टताले प्रवेश नपाओस् भन्ने कामनासहित तान्त्रिक पूजा गरिन्छ र गाउँको सिमानामा गएर कुखुरा उढाउने परम्परा पनि छ।

वर र पिपलको रुखमनि अवस्थित रहने डिहबार पछिल्लो समयको छाना भएका कंक्रिटका घरहरूमा राखिएका छन्। बढ्दो आधुनिकतासँगै डिहबारको परम्परागत मौलिकता पनि आधुनिक बन्दै गएको छ।

प्रकाशित: १२ पुस २०८२ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App