१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीको भ्रमणलाई लिएर पार्टीभित्रै विवाद

एमालेको गुटबन्दी सञ्जालमा छताछुल्ल

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको भ्रमणलाई लिएर पार्टीभित्रै विवाद उत्पन्न भएको छ। मुख्यमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला भ्रमणमा निस्किएका चेतनारायण आचार्यलाई ‘पहिलो गाँसमै ढुंगा’ लागेको छ। उनको भ्रमणमा एक पक्षको मात्र उपस्थिति रह्यो। यही विषयलाई लिएर अहिले दुई पक्षका नेताहरू सञ्जालमै एक अर्काविरुद्ध खनिएका छन्।

आचार्य पक्षका नेताहरूले यसलाई मुख्यमन्त्री स्विकार्न नसकेको अर्थमा व्याख्या गरिरहेका छन् भने प्रदेश सांसद रामजीप्रसाद घिमिरे पक्षका नेताहरूले आफूहरूलाई खबरै नगरी बाइपास गरेको गुनासो गरेका छन्। मुख्यमन्त्री आचार्य महासचिव शंकर पोखरेलनिकट छन्। सांसद घिमिरे उपाध्यक्ष विष्णु पौडेलनिकट नेता हुन्।

खुलेआम सञ्जालको घोचपेचले मुख्यमन्त्रीलाई अनावश्यक गिजोलिनुपरेको छ। सामाजिक सञ्जाल फेसबुकमा स्तरहीन बहसले उग्र रूप लिँदा यो विवाद सामान्य नरहेको पुष्टि गर्छ। भदौ २० देखि गृह जिल्लाको भ्रमणमा रहेका मुख्यमन्त्री आचार्य सहभागी भएका कुनै पनि कार्यक्रममा रामजी पक्षको उपस्थिति देखिएको छैन।

यसको सुरुवात आचार्य पक्षकै जिल्ला उपाध्यक्ष शम्भु पोख्रेलले सञ्जालमा स्टेटस राखेर गरेका थिए। उनले एक पक्ष उपस्थित नभएपछि सामान्य राजनीतिक संस्कारसम्म नदेखाएको भावमा स्टेटस लेखे। उनले लेखेका छन्, ‘सामान्य राजनीतिक संस्कार नभएकाहरूको उपस्थिति देखिएन। मुख देखाउन पनि लाज भो माननीयज्यू?’

उपाध्यक्ष पोख्रेलले फेसबुकमा स्टेटस राखेपछि गएको जेठ २६ र २७ गते सम्पन्न जिल्ला अधिवेशनमा उनीसँगै पराजित एमालेका पूर्व जिल्ला उपसचिव प्रेमनारायण गैरेले त्यो स्टेटसको प्रतिवाद गरे। उनले फेसबुकमा लेखेका छन्, ‘यसरी आफूहरूलाई पार्टीका आधिकारिकवाला भनेर स्वघोषणा गर्नेहरूले कार्यक्रममा अरूको पनि उपस्थिति देख्ने चाहना भएको भए त उनीहरूलाई खबर पनि गर्नुपर्छ होला नि? अरूलाई राजनीतिक संस्कार सिकाउने यस्तो उच्च राजनीतिक संस्कार भएकाहरूलाई यति त चेत हुनुपर्ने हो नि ?’

त्यसको जवाफमा पार्टी सचिवमा पराजित श्रीकृष्ण भुसाल लेख्छन्, ‘छिप्पिएर आफैं पाकेको फल भए पो बसाउँथ्यो, मालिकले बत्तिलो नै टिपेर कुम्साएको रैछ।’

गत शनिबार पालिकाहरूको भ्रमण गर्ने क्रममा मुख्यमन्त्री आचार्य पाणिनी गाउँपालिका पुगे। यो सांसद रामजीप्रसाद घिमिरेको पालिका हो। त्यहाँसमेत उनको उपस्थिति नभएपछि सञ्जालमा आचार्य पक्षका नेता–कार्यकर्ताले व्यापक आलोचना गरे। आलोचनाको शृंखला नै चलेपछि सांसद घिमिरेले फेसबुकमै त्यसको जवाफ दिएका छन्।

सञ्जालमा लामो स्टेटस लेख्दै घिमिरेले मुख्यमन्त्रीको जिल्ला भ्रमणका बारेमा आफू जानकार नरहेको बताए। पालिकामा आउँदा खबर गरेको भए पनि आफू घरायसी काममा व्यस्त रहेकाले जान नपाएको खुलाएका छन्। उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूको जिल्ला भ्रमणमा मेरो सहभागिता नभएको विषयमा सामाजिक सञ्जालहरूमा कतिपय जिम्मेवार व्यक्तिबाट नकारात्मक टिप्पणी गरेको देखिएको छ।

‘यही भदौ २० देखि शीतगंगा नगरपालिकाबाट सुरु भएको मुख्यमन्त्रीज्यूको जिल्ला भ्रमणका बारेमा भदौ २२ गते बिहानसम्म स्वयं मुख्यमन्त्रीज्यू, उहाँको सचिवालय र स्थानीय पार्टी कमिटीबाट मलाई कुनै पनि जानकारी प्राप्त नभएको तथ्य प्रस्ट पार्न चाहन्छु। माननीय मुख्यमन्त्रीज्यू तथा मन्त्रीज्यूहरूको जिल्ला भ्रमण हुँदा सम्बन्धित जिल्लाका प्रदेश सभा सदस्यहरूलाई स्वयं माननीय मुख्यमन्त्रीज्यू तथा मन्त्रीज्यू वा उहाँहरूका सचिवालयबाट जानकारी प्राप्त हुने र भ्रमणमा सहभागी गराउने सामान्य प्रचलन हुन्छ। तर यसपटकको माननीय मुख्यमन्त्रीज्यूको जिल्ला भ्रमणमा मलाई कुनै जानकारी दिन आवश्यक ठानिएन, जसको कारण स्थानीय जनप्रतिनिधि, पार्टी नेता तथा कार्यकर्ता एवं सम्पूर्ण जिल्लावासीमा मेरो अनुपस्थितिका बारेमा भ्रम उत्पन्न भएको व्यहोरा जानकारी गराउँछु।’

घिमिरेको यो स्टेटसपछि फेरि जिल्ला उपाध्यक्ष पोख्रेलले स्टेटस लेखे, ‘अरूका घरमा भैंसी ब्याउँदासमेत जन्मदिनको शुभकामना लेख्नेहरूले जिल्लाकै आफ्नै नेता माननीय मुख्यमन्त्री हुँदा थाहा पाएनछन्। सारा नेता शपथ समारोहमा जाँदा तपाईंहरूलाई निम्तो चाहियो?

प्रकाशित: २४ भाद्र २०८१ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App