३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बर्सेनि घट्दै इन्द्रजात्रामा ठड्याइने यम द्यः

इन्द्रजात्राको अवसरमा यम द्यः उठाइँदै। वर्षैपिच्छे भक्तपुरमा यस्तो यम द्यः ठड्याउने चलन क्रमशः घट्दै गइरहेको छ। तस्बिर: नागरिक

प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा भक्तपुरका ठाउँठाउँमा यम द्यः (इन्द्र देवता) ठड्याउने चलन घट्दै जान थालेको छ। प्रत्येक नयाँ वर्षसँगै बिस्केट जात्रामा मात्रै उठाइने लिंगोजस्तै इन्द्रजात्राका अवसरमा पनि भक्तपुरका टोलटोलमा ससाना यम द्यः (लिंगो) उठाइन्छन्।

हरेक भाद्र शुक्ल पक्ष द्वादशी इन्द्रजात्रा (नेपाल भाषामा यन्हापुन्ही) को पहिलो दिन यहाँ यसरी नै यम द्यः (इन्द्र देवता) उठाइन्छ। एक साता मनाइने जात्राको पहिलो दिन भक्तपुर नगरपालिकाका २१ टोलमा २१ वटा यस्ता लिंगो उठाइएको छ। तर प्रत्येक वर्ष यो संख्या घट्दै आएको बताइएको छ ।

स्थानीय टोलवासी नै मिलेर यसरी यम द्यः उठाउने परम्परा यहाँ प्रत्येक वर्ष चल्दै आएको छ। परम्पराअनुसार स्थानीय टोलवासीले यम द्यः बिहान उठाउने गर्छन्। करिब २० देखि ३० हात अग्लो हात भएका यम द्यःहरू नगरका ठाउँठाउँमा ठड्याइएका हुन्।

नगरका सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, चासुखेल, नासमनालगायत ठाउँहरूमा यम द्यः उठाइएका छन्। स्थानीयका अनुसार पहिलापहिला नगरका ३२ टोलमा ३२ वटा यस्ता यम द्यः उठाइन्थे। तर यी उठाउने गुठी (समूह) हरूको निष्क्रियताका कारण यो संख्या निरन्तर घटिरहेको जनाइएको छ। आर्थिक स्रोत नभएपछि अहिले यम द्यः उठाउने क्रम घटेको स्थानीय बताउँछन्।

ठड्याइएका यस्ता यम द्यःलाई दैनिक रूपमा साँझपख पूजाआजा गर्ने चलन छ। साँझ विशेष गरी महिलाहरू आरती दिन पूजाआजा गर्न यम द्यः भएके ठाउँमा पुग्छन्। यो क्रमले नगरभरिको वातावरण नै उल्लासमय हुन्छ।

स्थानीय जात्राप्रेमी कृष्णमाया त्वायनाका अनुसार यम द्यः ठड्याइएको पाँचौं दिन मुपात्र (राक्षस रूपी मानिस, मुख्य कलाकार) लाई नगर परिक्रमा गराउने क्रम सुरु हुन्छ। साथै यही दिनहरूमा यामता (दियो लिएर हिँड्ने मानिस) घुमाइन्छ। जात्राको अन्तिम तीन दिन नगरका छुट्टाछुट्टै स्थानबाट दैनिक मुपात्र र यामता निस्केर नगर परिक्रमा गर्छन्।

भक्तपुर नगरको बुलुचाबाट निक्लने हातीरूपी पुलुकिसीलाई नगर परिक्रमा गराइन्छ। त्यो दिन पुलुकिसी जात्रा हेर्न नगरभरि ठुलो भिड लाग्छ। साथै यही क्रममा भक्तपुरको सिद्धपोखरीमा पनि मेला लाग्छ। मेलाका क्रममा ठुलो पोखरीको चारैतिर दियो बाल्ने गरिन्छ।

 यो दृश्य हेर्न र फोटो खिच्न यो दिन विशेष भिड हुने गर्छ। साथसाथै इन्द्रजात्राकै क्रममा यहाँं दुई दिन इन्द्रायणी जात्रा पनि हुने गर्छ ।इतिहास एवं सस्कृतिविद् डा. वीरेन्द्रप्रसाद कायस्थका अनुसार यन्हापुन्ही (इन्द्रजात्रा) को अर्थ इन्द्रको जात्रा हो।

उनका अनुसार परापूर्वकालमा एक दिन स्वर्गलोकका राजा इन्द्र आफ्नी आमाको पूजाका लागि मत्र्यलोक (पृथ्वी) मा पारिजात फूल लिन आएका थिए। यस क्रममा बगैंचाबाट पारिजात फूल चोर्दा उनी पक्राउ परे।

यसरी पक्राउ परेका इन्द्रलाई बाँधेर राखियो। पछि इन्द्रको वाहन पुलुकिसी (ऐरावत हात्ती अर्थात् पुलुकिसी) चढेर इन्द्रलाई लिएर स्वर्गमा फर्के। यही कथालाई लिएर जात्रा मनाउन थालिएको उनको भनाइ छ।

प्रकाशित: १ आश्विन २०८१ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App