१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संगठन सुधारमा ध्यान केन्द्रित गर्दै माओवादी

एकीकृत समाजवादी र अन्य दलका नेता माओवादीमा प्रवेश

क्याप्शन

नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश स्तरीय परामर्श बैठक सुरु भएको छ। आइतबारदेखि उदयपुरको बेलका नगरपालिका–८, सोमबारेस्थित केलका रिभर बिचमा बैठक सुरु भएको हो।

माओवादी केन्द्रले सत्ता गुमेपछि संगठन सुधारमा ध्यान केन्द्रित गर्दै सातवटै प्रदेशमा परामर्श बैठक आयोजना गरिरहेको छ। यसअघि बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा यस्ता बैठक सम्पन्न भइसकेका छन्।

प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ का अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत र गिरिराजमणि पोखरेलले सहभागिता जनाएका छन्। यद्यपि, उपमहासचिव वर्षमान पुन भने बैठकमा सहभागी छैनन्।

कोशी प्रदेशको बैठक पश्चात् मधेश प्रदेशमा परामर्श बैठक राख्ने योजना रहेको केन्द्रीय सदस्य सुरेशकुमार राई ‘हिमाल’ ले जानकारी गराए।

एकीकृत समाजवादी र अन्य दलका नेता माओवादीमा प्रवेश

बैठक सुरु हुनुअघि नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य शैलेन्द्र खतिवडासहित दर्जनभन्दा बढी कांग्रेस र एमाले कार्यकर्ता माओवादीमा प्रवेश गरे।

खतिवडा नेपाल जनसांस्कृतिक मञ्चका केन्द्रीय सचिवसमेत रहेका थिए। उनीसँगै नेपाली कांग्रेसका सन्तबहादुर सुनुवार, राजु दनुवार, रामबहादुर सुनुवार र एमालेका केदार मगर माओवादीमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपाध्यक्ष सापकोटा र महासचिव गुरुङले खादा र माला लगाएर स्वागत गरेका थिए।

प्रदेशका प्रमुख नेताहरु र केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको बैठक सोमबारसम्म चल्नेछ।

प्रकाशित: २३ भाद्र २०८१ १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App