३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

महानगर कांग्रेसको ठहर: बालेनको ‘सूचना’ ले नगरवासी आतंकित !

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले महानगर क्षेत्रका ‘नदी किनार’ को विवादबारे आफ्नो धारणा सार्वजनिक गर्दै मेयर बालेन्द्र साहको गतिविधिमाथि प्रश्न उठाएको छ।

शुक्रबार कांग्रेसको काठमाडौं महानगर कार्यसमितिका सभापति निलकाजी शाक्य र २०७९ को स्थानीय तह निर्वाचनमा मेयरका प्रत्याशी सिर्जना सिंहले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मेयर साहको गतिविधिमाथि प्रश्न उठाएका हुन्।

विज्ञप्तिमा महानगर क्षेत्रमा पर्ने बागमती, विष्णुमती, धोबीखोला, टुकुचालगायतका नदी किनारबाट दायाँबायाँ २० मिटर छोडी मात्र संरचना निर्माण गर्न सकिने नेपाल सरकारको २०६५ मंसिर १ गतेको निर्णयलाई उल्लेख गरिएको छ।

यस्तै, सर्वोच्च अदालतबाट २०८१ साउन २४ गते थप २० मिटर मापदण्डसहितको पालना गर्न महानगरलाई उत्प्रेषणयुक्त आदेशप्रति कांग्रेस सम्मान गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

तर, त्यो निर्णयले काठमाडौं महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरू पर्ने भन्दै त्यसले काठमाडौंको वासस्थान र सम्पदा लोप हुने खतरा बढेको विज्ञप्तिमा भनिएको छ।

‘यस निर्णयले स्थानीय वासिन्दाहरूको पुराना बस्ती, वासस्थान र धार्मिक सांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालन्तरमा लोप हुने सम्मको अवस्था सिर्जना भएको नेपाली कांग्रेस काठमाडौं महानगर समितिले महसुस गरेका छ’, विज्ञप्तिमा अगाडि भनिएको छ।

संविधानले नागरिकको सम्पत्ति संरक्षण गर्ने र आवासस्थलको मौलिक हकलाई सुनिश्चित गरेको भन्दै विज्ञप्तिमा सर्वोच्चको फैसलाबाट त्रास पैदा भएको पनि उल्लेख छ। यसै सन्दर्भमा जननिर्वाचित नगरप्रमुखले नगरवासीको पक्षमा काम गर्नुपर्नेमा त्यसो नदेखिएको आरोप लगाइएको छ।  

‘काठमाडौं महानगरवासीहरूको हक हितमा समर्पित रहनुपर्ने, नगरवासीहरूको पक्षमा कार्य गर्नुपर्ने काठमाडौं महानगरका जननिर्वाचित प्रमुखको, हालसम्मको गतिविधि र निर्णयहरू नगरवासीहरूको पक्षमा काम नगरेको स्पष्ट हुन्छ’, विज्ञप्तिमा अगाडि भनिएको छ।

यस्तै कानुन बमोजिम नगरवासीहरूको हितमा फैसलाको पुनरावेदन गर्नुपर्नेमा मेयर साहले कार्यपालिकाको बैठक वा कार्यपालिका सदस्यहरूसँग छलफल समेत नगरी एकल निर्णय गरेर पत्रिकामार्फत सूचना सार्वजनिक गरेर नगरवासीलाई आतङ्कित पारेको कांग्रेसको ठहर छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचनाले नगरवासीहरूलाई आतङ्कित बनाएको हुनाले महानगर प्रमुखको उक्त कार्यप्रति खेद प्रकट गर्दछौँ।’

यस्तै, कांग्रेसले मेयर साह नेतृत्वमा गरिएको कामहरूले नागरिकहरूको हित र आवश्यकतालाई प्राथमिकता नदिएको ठहर गर्दै नागरिकको हितका लागि राज्यका तीनै अंगमा ज्ञापन सहित अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ भाद्र २०८१ १९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App