३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

धनगढीमा स्मार्ट नगर बस संचालनमा, घरबाटै बस कहाँ पुग्यो हेर्न मिल्ने

ग्रामिण वस्तीमा रहेका सर्वसधारणलाई सदरमुकाममा सहजरुपमा ओहोरदोहोर गर्न धनगढी उपमहानगरपालिकाले स्मार्ट नगर बस संचालनमा ल्याएको छ ।  

धनगढी उपमहानरगपालिकाका साथै कैलारी गाउँपालिका, गोदावरी गाउँपालिकासम्मको रुटमा नगर बस चल्ने छन् । घरबाटै यात्रुहरुले कुन बस कहाँ पुग्यो भनेर हेर्न मिल्ने गरी बसहरुमा जीपीएससमेत जडान गरिएको छ ।  

कैलारी गाउँपालिकाको हसुलियादेखि धनगढी बजार हुँदै गोदावरी नगरपालिकाको अत्तरियासम्मको रुटमा नगरबस चल्ने छन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म ३० मिनेटको फरकमा नगर बस संचालन हुने नगरपालिकाले जनाएका छन् ।  

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित वसपार्कमा एक कार्यक्रमका बीच उपप्रमुख नन्दकला रानाले हरियो झण्डा देखाएर नगर बस सेवाको उद्घाटन गरेकी थिइन्।

नगरबस संचालनले धनगढी बजारबाट २५, ३० किलोमिटर सडक दुरीमा रहेका ग्रामिण वस्तीका वासिन्दालाई सदरमुकाम धनगढीसम्म ओहोरदोहोर गर्न सहज भएको छ । नगरबस संचालनसँगै सस्तो र सुलभ रुपमा यात्रा गर्न मिल्ने भएपछि स्थानीय खुशी भएका छन् ।

‘यहाँबाट धनगढी जान चाहेको वेला सवारीसाधन मिल्दैनथ्यो, अटोमा जाँदा भाडा पनि महंगो र समय पनि बढी लाग्थ्यो’ फुलवारीका वासिन्दा जगन्नाथ अधिकारीले भने, ‘नगर बस संचालनले हामीलाई धेरै सजिलो हुने भएको छ ।’  

फुलवारी बाट अटोमा धनगढी आउन १ सय भाडा तिर्नुपर्ने उनले बताए । नगर बसमा ५० रुपैयाँमात्र भाडा पर्ने उनको भनाइ छ । नगर बस संचालन भएपछि बिरामी भएर अस्पताल जान तथा आकस्मिक कामका लागी धनगढी जान सहज हुने अर्कां स्थानीय वासिन्दा इन्द्रबहादुर सुनार बताउछन् ।  

‘बिहानदेखि साँझसम्म ३०, ३० मिनेटको फरकमा नगर बस चल्ने भएपछि काम पर्दा सदरमुकाम ओहोरदोहोर गर्न धेरै सुविधा हुने छ,’ उनले भने ।

आफ्नो निजी सवारीसाधन नहुने बासिन्दालाई छिटो र सहज रुपमा आहोरदोहोर गर्न मिलोस भनेर नगरबस संचालन गरिएको नगर प्रमुख गोपाल हमालले बताए । धनगढी सदरमुृकाम बाहिर रहेका ग्रामीण वस्तीलाई यातायातले सदरमुकामसँग जोड्न नगर बस सेवा चलाइएको हो ।

सदरमुकाम बाहिरका वस्तीलाई पनि विकासका दृष्टीले मुलप्रवाहमा जोड्ने सोच रहेको उनको भनाइ छ । ‘धनगढी लगायत नगर भित्रका फुलवारी, हसुलिया लगायत सवैतिर यातायात, शिक्षा, स्वास्थ्य उपचार, खेलकुद, कृषि लगायतका विकासका काम समान रुपमा गर्ने सोच अनुसार नै यो नगर बस सेवा संचालन गरिएको हो,’ उनले भने ।

हसुलिया, फुलवारी, धनगढी हुँदै अत्तरियासम्म ओहोरदोहोर गर्ने छन् । एक बस र अर्को बसको अन्तराल ३० मिनेटभन्दा कम हुने राजस्व शाखा प्रमुख लेखनाथ ओझाले बताए । ७ किलोमिटरसम्म २० रुपैयाँ भाडा लाग्ने छ भने ७ किलोमिटरभन्दा बढी यात्रा गर्दा नेपाल सरकार गरेको मापदण्ड अनुसार प्रतिकिलोमिटर २ रुपैयाँ ८४ पैसाका दरले भाडा लाग्ने उनले बताए ।

के एण्ड के कन्स्ट्रक्सन धनगढीले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगरबस सेवा संचालन गर्ने ठेक्का पाएको  उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख लेखनाथ ओझाले बताए । २ करोड ४८ लाखमा ६ वटा बस खरिद गरेर संचालनमा ल्याइएको हो ।

ठेक्का २०८१ असोज १ गतेदेखि भाद्र मसान्तसम्म दिइएको उनले बताए । प्रत्येक दिन बिहान ६ बजे हसुलियादेखि बस संचालन हुनेछ ।  

केही समय पहिले सम्म विकासले ओझेलमा परेको फुलवारीलाई नगरवस संचालनले सदरमुकाम धनगढीसँग जोड्नुका साथै फुलवारीकोे विकासको लागी कोसेढुंगा सावित हुने वडा नं १८ का अध्यक्ष भुवन रिजालले बताए । 

नगरबस संचालनले स्थानीयका कृषी उपज समयमै बजारसम्म पुगाउन सजिलो हुने उनले बताए । विद्यालय खुलेको दिन धनगढीका बाल विकास शिक्षकशिक्षिकाले नगरबसमा नि:शुल्क यात्रा गर्न पाउने बताइएको छ ।  

प्रकाशित: ३१ भाद्र २०८१ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App