३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसद शर्मा र बालश्रम मुद्दाः बालेनविरुद्ध एमाले

किन भइरहेछ विवाद ?

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आइतबार साँझ सामाजिक सञ्जालमा एक लामै अभिव्यक्ति सार्वजनिक गरे। मेयर साहको उक्त अभिव्यक्ति नेकपा एमालेबाट लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मासँग सम्बन्धित थियो।

सांसद शर्माले बालश्रम शोषण गरेको तर एमालेले कारबाही नगरेको भन्दै मेयर साहले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै सम्बोधन गरेका थिए। बालश्रमको मुद्दा भएकी सांसद शर्मालाई किन कारबाही नगरेको भनी मेयर साहले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए। 

उक्त विषयमा प्रधानमन्त्री ओलीले भने कुनै प्रतिक्रिया दिएका छैनन्। तर एमालेबृत्त भने मेयर साहमाथि खनिएको छ। एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु यतिबेला साहको अभिव्यक्तिविरुद्ध खरो उत्रिएको छ।

मेयर साहको विवादित अभिव्यक्तिपछि प्रतिवादको मोर्चा खोल्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले मेयर साहमाथि विदेशी खुफिया एजेन्सीलाई दिनहुँ भेट्ने गरेको आरोप नै लगाएका छन्। 

‘काठमाडौं महानगरको मेयर बालेनजी सांग्रिला होटेलपछाडि घर भाडा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस्,’ अध्यक्ष बडालले लेखेका छन्,‘नेपाली जनताले तपाइको असलियत बुझ्ने दिन धेरै टाढा छैन।’

उता बडालले यो स्ट्याटस राख्दा मेयर साहका समर्थक उनीमाथि खनिएका छन्। त्यसपछि बडालले दोस्रो स्ट्याटसमा भने यदि शर्माले बालशोषण गरेको प्रमाणित भए कारबाही हुनुपर्ने बताएका छन्। 

‘एमालेको प्रदेश सांसद रेखा शर्माले बालशोषण गरेको प्रमाणित हो भने पार्टीले कारबाही गर्नुपर्छ।  राज्यले कानुनी कारबाही गर्नुपर्छ। सवाल नेपालको अपराधी करार गर्ने बालेनजीको सामाजिक सञ्जाल हो भन्ने कुरासँग जति आलोचना भएपनि सहमत हुन सकिन्न। लोकतन्त्रमा कानुनी राज्यको प्रत्याभूति दिलाउन जस्तोसुकै साइबर अपराधीहरूको सामना गरिन्छ’, बडालले लेखेका छन्।

सोमबार नै बडालले आफ्नो फेसबुक पेजमा उद्धार गरेकी बालिकाको बुबाले सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिका, महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई विपक्षी बनाएर हालेको बन्दी प्रत्यक्षीकरण रिटमा भएको फैसला पढ्दै रेखा शर्मा दोषी नभएको बताए।  यसमा अदालतले दिएको फैसला हेर्दा मेयर साहलाई नै पक्रेर थुन्नु पर्ने देखिएको उनी बताउँछन्।

न्यायाधीश सपना मल्ल प्रधान, डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको पूर्ण इजलासले रिट खारेज गर्दै महानगरपालिकाका नाममा परमादेश दिएको थियो।

अदालतले दिएको परमादेशमा ‘निज(बालिकाका बुबा)ले आफ्नो खास आर्थिक सामाजिक परिस्थिति समेतका कारण छोरीलाई पढाउन भनी रेखा कुमारी शर्माको जिम्मा लगाई काठमाडौं पठाएको देखिन्छ। निज रेखा कुमारी अभिभावक बनी मिति २०७५/०१/१० मा श्री धुम्रवराह माध्यामीक विद्यालयमा कक्षा दुईमा भर्ना गराई हालसम्म निरन्तर अध्ययन गरिरहेको भन्ने पनि देखिन्छ।  निज बालिका बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४८ को उपदफा १ को खण्ड छ बमोजिमको बाबु, आमा वा अभिभावकबाट कुनै दुर्व्यवहार, हिंसा वा बेवास्ता भएको कारणले परिवारबाट अलग गरिएको भन्ने देखिएन्’, भनी उल्लेख छ। 

यसैबीचमा एमाले कार्यकर्ताबाट प्रतिवाद भएपछि सोमबार नै मेयर शाहले सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम नगर्न भन्दै अर्को स्ट्याटस लेखे। त्यसमा उनले सर्वोच्चको मुद्दा सांसद शर्मा र महानगर बिचको मुद्दा नभएको पनि उल्लेख गरेका छन्।

मेयर साहले यो स्ट्याटसमा पनि प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा ल्याउन पनि सुझाव दिन भन्न भ्याएका छन्।

मेयर साहले लेखेका छन्,‘रेखाकुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै छिन र आफै हार्दै छिन। महानगरले उनी विरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ।’

सोमबार नै अनेरास्वयु अध्यक्ष बडालले मेयर साहलाई बाल हिंसामा सरकारलाई सर्वोच्च अदालतले सांसद शर्मालाई समात्न आदेश दिएको प्रमाण सहित अगाडि आउन चुनौती दिए।

‘कुनै कानुनविद्ले तपाईँले उठाएको विषय बाल हिंसामा सरकारलाई सर्वोच्च अदालतले रेखा शर्मालाई समात्न आदेश दिएको प्रमाण सहित अगाडि ल्याउनुहोस्,’ बडालले लेखेका छन्, ‘तपाईँले प्रमाण दिन नसकेको गलत विषय सञ्जालमा लेखेर कुनै महिलामाथि तपाईँको हिंसा र ज्यादती धेरै नबढाउनुहोस्।’

यसैबीचमा मंगलबार बिहान मेयर साहले आइतबार झास शर्माको फोटोसहित फेसबुकमा हालेको स्ट्याटस एकाएक हट्यो। फेसबुकमा हटेको उक्त स्ट्याटस बालेनको ट्विटर(एक्स) एकान्टमा भने हटेको छैन।

धेरैले आङ्कलन गरे मेयर शाहले स्टाटस हटाए। तर बालेनको सचिवालयले भने त्यो स्टाटस बालेनले नभएर फेसबुकमा धेरै रिपोर्ट गएपछि फेसबुकको कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको दाबी गरेको छ।

मेयर शाहको प्रमुख स्वकीय सचिव भुपदेव शाहले सांसद शर्माको फोटोसहित राखेको स्ट्याटस फेसबुकको कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको बताए।

‘मेयरज्यूको उक्त स्ट्याटसमा फोटो थियो। त्यो पोस्टमा धेरै रिपोर्ट गएको भनेर उक्त फोटो फेसबुकको कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको हो’, स्वकीय सचिव शाहले भने,‘फेसबुकले के लेखेको छ भन्दा पनि रिर्पोट धेरै गएपछि हटाउँदो रहेछ। फेसबुकले अध्ययन गरिरहेको छ। हामी  रिभर हुन्छ भन्नेमा आशावादी छौँ।’ 

धेरैको आङ्कलन छ अनेरास्वयुले उक्त पोस्टमा रिपोर्ट गरे। अनि फेसबुकले स्टाटस हटायो।

मेयर साहको फेसबुकबाट स्ट्याटस हटेपछि बडालले तथ्यहीन पोस्ट सामाजिक सञ्जालबाट हटाएकोमा मेयर साहलाई धन्यवाद दिए। ‘बालेन्द्र साहज्यू, धन्यवाद! तथ्यहीन पोस्ट सामाजिक सञ्जालबाट हटाउनुभएको रहेछ। जिम्मेवार निकायमा रहेका सार्वजनिक व्यक्तिले समन्वयको माध्यमबाट काम गरेर नतिजा निकाल्नुपर्छ। निराशा पैदा गरेर त्यसमा अवसर खोज्ने कुरा व्यक्तिलाई लाभदायक होला, तर देशलाई कुनै पनि फाइदा हुँदैन।’ 

विवादको सिलसिला मात्रै रोकिएको छैन। बडालले फेरि अर्को स्ट्याटस लेखेका छन्। साहले सूचनालाई गलत रुपमा प्रस्तुत गरेर र समाजलाई त्यसैको आधारमा उत्तेजित बनाई आफ्नो गुप्त उद्देश्य पूरा गर्न खोजेको बडालले आरोप छ।

‘तपाईंले सूचनालाई गलत रुपमा प्रस्तुत गरेर र समाजलाई त्यसैको आधारमा उत्तेजित बनाई आफ्नो गुप्त उद्देश्य पूरा गर्न खोज्नुभएको छ,’ बडालले लेखेका छन्,‘रेखा कुमारी शर्माले बाल हिंसा गरेको भन्ने झुटो स्ट्याटस लेखेर पछि डिलिट गर्नुभयो। झुटो कुरा ढिलै भए पनि झुटो नै साबित हुन्छ, टिक्दैन। तपाईंले दोस्रो स्ट्याटसमा उच्च अदालतको मुद्दाको सूचीको फोटो राखेर फेरि अर्को झुटो स्टाटस पोष्ट गर्नुभएको छ। मुद्दाको सूचीमा निवेदकले जे माग दाबी गरेको छ, त्यही मात्र उल्लेख हुन्छ भन्ने कुरा पाठकलाई थाहा नहुन सक्छ। माग दाबीलाई नै अदालतको फैसला जस्तो बुझेर एकोहोरो गाली गर्न थाल्छन्।’

सांसद शर्माले घरमा बालिका राखेको विषयलाई लिएर अहिले मेयर साह र अनेरास्वयुबीच यसरी दोहोरी नै चलिरहेको छ। अर्कातिर महानगरको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंमा शर्माविरुद्ध बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुने कसुर अन्तर्गत जाहेरी दर्ता गरेको छ। अनेरास्ववियु भने शर्माले बालहिंसा नगरेको भन्दै सांसद शर्माको प्रतिरक्षामा छ। 

अदालतले पक्राउ पुर्जी दिएन 

उता यस विषयमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले सांसद शर्माविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिने प्रयास गरेको समेत खुलेको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी यो कुरा पुष्टि गरे।

‘अदालतले पक्राउ पुर्जी दिनका लागि पर्याप्त प्रमाण नपुगेको भनेको छ’, उनले भने, ‘हामी दुई तीन पल्ट अदालत गएका थियौँ। पक्राउ गर्न पर्याप्त प्रमाण नपुगेको भन्दै पक्राउ पुर्जी पाइएको छैन।’

यसअघि जेठ १४ महानगरको नगर प्रहरीले गते सांसद शर्माको घरबाट १४ वर्षीया बालिकाको उद्धार गरेको सार्वजनिक गरेको थियो। धुम्बराहीस्थित घरमा बालश्रमिक रहेको भन्ने सूचनाका आधारमा ती बालिकालाई उद्धार गरिएको महानगरले जनाएको छ। 

वर्षदेखि ती बालिका शर्माको घरमा बालश्रम गर्दै आइरहेको महानगरको टोलीको भनाइ छ। शर्माको घरमा आएदेखि बालिकालाई घर जान पनि नदिएको र आमाबुबासँग पनि भेट्न नदिएको बालिकाले बयान दिएको महानगरको दाबी छ।

ती बालिकाले सांसद शर्माले आफूलाई घरमा खाना पकाउन लगाउने, घर सफा गर्न लगाउने, लुगा धुन लगाउने जस्ता काममा प्रयोग गरेको बताएको महानगरले भनेको छ।

सांसद शर्माले भने विपन्न बालिकालाई आफूले पढाउँछु भनेर ल्याएको र सोहीअनुसार पढाइरहेको बयान दिने गरेकी छन्। 

प्रकाशित: १८ भाद्र २०८१ १८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App