२८ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

तनावग्रस्त जीतपुर सिमराः जनप्रतिनिधिबीच सधैँजसो विवाद

जीतपुर सिमरा उपमहानगरपालिकामा जनप्रतिनिधिबीचको उत्पन्न विवादले झगडा रूप लिएपछि स्थिति असामान्य बनेको छ। जनप्रतिनिधि नै झगडामा उत्रँदा कर्मचारीलाई समेत कार्यालयमा बसेर काम गर्न असहज बनेको छ। जनप्रतिनिधि नै झगडामा उत्रिएपछि जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई समेत चुनौती दिएको छ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगर प्रमुख राजन पौडेल समूह र नेकपा एमालेबाट निर्वाचित उपप्रमुख भोला अधिकारी समूहबिचको विवादको स्थिति छ। सोही विवाद बढ्दै गएर दुई पक्षका जनप्रतिनिधि नै हात हालाहालसम्मका घटना भइसकेका छन्।

जनप्रतिनिधिबीच नै झडपमा उत्रिएपछि शान्ति सुरक्षा व्यवस्थापन गर्न कठिनाइ भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए। यद्यपि ठूलो विवाद उत्पन्न हुन नदिन संवेदनशील भएर सावधानी अपनाइएको पनि उनले बताए।

असारमा गरिएको भनिएको १० औं नगर सभाबाट पारित गरिएको दुई अर्ब १० करोड ५० लाखको बजेट नगर प्रमुख राजन पौडेलले आफैसँग राखेको भन्दै उपमेयर अधिकारी पक्ष असन्तुष्ट छ। नगरप्रमुखले उक्त रकम आफूखुसी चलाउन खोजेको उपमेयर समूहको आरोप छ।

उपप्रमुख समूहका वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले मेयरको मनोमानीमा सहयोग गरेको भन्दै कार्यालय छाड्न चेतावनी नै दिएका छन्।

भदौ १३ गते नगर प्रमुख पौडेलसँग मिलेर आफूलाई थाहै नदिएर वडा सचिवहरूको समेत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई कार्यकक्षमै घेरेका थिए। त्यस क्रममा दुबै पक्षका वडाध्यक्षबीच हात हालहालको स्थिति बनेको थियो। 

प्रमुख प्रशासकीय अधिकृत काफ्ले जनप्रतिनिधिको घेराका कारण बेलुकासम्म बन्दीमा परेको थाहा पाएपछि सुरक्षाकर्मीहरूले पुगेर उद्धार गरेको थियो।

उपमेयर समूहमा रहेका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठले आफूहरूसँग सल्लाह नै नगरी वडा सचिवहरू सरुवा गरेर प्रमुख प्रशासकीय अधिकृत काफ्लेले विवाद बढाउने काम गरेको आरोप लगाए। 

उता नगरप्रमुख पौडेलले एमाले पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरूले अनावश्यक राजनीतिक विवाद सिर्जना गरी वातावरण खलबल्याइरहेको आरोप लगाएका छन्। 

पटक-पटक विवाद 

गत साउन २९ गते शिक्षक हाजिर गराउने विषयलाई लिएर २ नं। वडाका अध्यक्ष श्रेष्ठ र नगर प्रमुख पौडेलबिच विवाद चर्किएर हात हालाहालसम्म पुगेको थियो।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका सीता अधिकारीलाई हाजिर गराउन नगर प्रमुख पौडेल आफै पुगेका थिए। उनलाई हाजिर गराउने कुराको विपक्षमा वडाध्यक्ष श्रेष्ठ थिए। हात हालाहालसम्म पुगेपछि नगर प्रमुख पौडेल शिक्षिका अधिकारीलाई हाजिर नगराई फर्केका थिए। पछि वडाध्यक्ष श्रेष्ठले उपमेयर अधिकारीलाई बोलाएर शिक्षिका अधिकारीको हाजिर गराएका थिए। 

यस्तै गत असार १० मा १० औं नगर सभालाई  मेयर पौडेलले एकलौटी तरिकाले सम्पन्न गर्न खोजेपछि उनीमाथि विपक्षी जनप्रतिनिधिले हातपातको प्रयास नै गरेका थिए।  बहुमत कार्यपालिका सदस्यको भावना विपरीत नगर सभा गर्न खोजिएको विपक्षको आरोप थियो।

नगर सभाबाट आफूखुसी नीति तथा कार्यक्रम र बजेट बनाएर पारित गर्न खोजिएको भन्दै त्यति बेला एमाले, कांग्रेसलगायत मधेसवादी दलका जनप्रतिनिधिले समेत विरोध गरेका थिए।

उपमेयरसहित बहुमत कार्यपालिका सदस्यले त्यसबेला नगर सभा बहिष्कार गरेका थिए। बहिष्कारकैबीचमा पनि सभा चलाउन खोजेपछि असन्तुष्ट पक्ष आक्रमणमा उत्रिएको थियो। जसमा कुर्सीहरू तोडफोडसम्म भएको थियो।

नगरप्रमुख पौडेलमाथि नगर सभामै आक्रमण हुने देखेपछि उपस्थित सुरक्षाकर्मीले स्थिति सामान्य पारेका थिए।

यता जनप्रतिनिधि दुई गुटमा विभक्त भएर विवादमा उत्रिदा नगरबासी भने दुखी बनेका छन्।

यो उपमहानगरमा कुल १२२ जना नगर सभा सदस्य छन्। जसमा उपमेयरसहित एमालेका ६९, कांग्रेसका २३ सदस्य छन्। मेयरसहित माओवादी केन्द्रका २०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ६ र नेकपा एकीकृत समाजवादीका चार सदस्य छन्। 

यता कार्यपालिका र नगर सभामा अल्पमतमा रहेका मेयर पौडेलले सबैलाई मिलाएर लैजान नसक्दा समस्या भइरहेको स्थानीय बासीको आरोप छ। 

नगरप्रमुख पौडेलले नगर राम्रो बनाउन खोज्दा आफूमाथि आक्रमण भइरहेको बताएका छन्। उनी खुद्रे योजना रोकेर ठूला योजना बनाउन खोज्दा विवाद भइरहेको दाबी गर्छन्।

‘अनावश्यक बहाना गरेर कहिले प्रमुख प्रशासकीय अधिकृत त कहिले मसँग विवाद गर्ने कार्य सुरु गरिरहेका छन्,’ उनी भन्छन्। 

उता उपमेयर अधिकारीले कागजी प्रक्रियाबाट अनियमितता गर्ने उद्देश्यले अघि बढ्न खोज्दा विरोध भइरहेको बताउँछिन्।

‘बहुमत कार्यपालिका सदस्यलाई बाहिर राखेर कथाकथित गरिएको भनिएको १० औं नगर सभाबाट दुई अर्ब १० करोड ५० लाखको बजेट बनाएर सबै बजेट रकम नगर प्रमुखले आफैसँग राखेर खर्च गर्न सुरु गरेपछि विवाद आएको हो,’ उनले भनिन्।

प्रकाशित: १६ भाद्र २०८१ १८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App