२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

गण्डकी सरकारः कांग्रेस–एमालेको समीकरण बन्नै सकस

दुई ठूला प्रतिष्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संघीय सरकार बन्यो। समीकरण बन्दा सातै प्रदेशमा कांग्रेस–एमाले सम्मिलित सरकार बनाउने सहमति छ। तर गण्डकीमा भने दलहरुबीच भएको सहमति अनुसार कांग्रेस–एमाले सम्मिलित सरकार बनाउन सकस भएको छ।

किनकी यहाँ एक महिना अघिमात्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फडिन्द्र देवकोटालाई फ्लोर क्रस गराएर मुस्किलले विश्वासको मत लिएका थिए। त्यतिमात्र होईन एमाले–माओवादीको सरकारमा रहेका स्वतन्त्र सांसद राजिव गुरुङ ( दीपक मनाङे) लाईसमेत फकाएर विश्वासको मत लिएका थिए। 

तर विश्वासको मत लिएको एक महिनामै दुई ठूला पार्टी मिलेर सत्ता समीकरण बनाएपछि मुख्यमन्त्री पाण्डे सकसमा छन्। उनलाई गण्डकीमा एमालेलाई पनि सरकारमा समेट्नुपर्ने बाध्यता छ। तर उनी दुःखमा साथ दिएका मनाङे र देवकोटालाई नछाड्ने अडानमा छन्। अझ उनी त मागेको खण्डमा राप्रपालाईसमेत सरकारमा सामेल गराउने पक्षमा छन्। 

एमाले भने संघमा भएको सहमति अनुसार नै गण्डकीमापनि सत्ता सहकार्य हुनुपर्नेमा उभिएको छ। जसका कारण मुख्यमन्त्री पाण्डे तनावमा छन। मुख्यमन्त्री पाण्डे वर्तमान सरकारमै एमालेलाई सामेल गराउन चाहन्छन्। गण्डकीमा हाल ५ सदस्यीय मन्त्रीपरिषद छ। जसमा कांग्रेसबाट अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रीमा फडिन्द्र देवकोटा र भौतिक पूर्वाधार मन्त्रीमा दीपक मनाङे छन्। गण्डकीमा अझै दुई जना मन्त्री थप्न मिल्ने छ। मुख्यमन्त्री पाण्डे सोहि दुई मन्त्रालय लिएर एमाले सरकारमा सामेल होस् भन्नेमा छन्।  

उनले निकटकाहरुसँग बरु मन्त्रालय थपेर एमालेलाई सरकारमा सहभागि गराउने तर आफूलाई दुःखमा साथ दिएकालाई हटाउँदिन भनेर भन्ने गरेका छन्। पाण्डेलाई उद्धृत गर्दै श्रोतले भन्यो, ‘दुःखमा साथ दिएका मनाङे र देवकोटालाई हटाउँदिन, बरु मन्त्रालय फुटाउन सकिन्छ।’ उनी राप्रपापनि सरकारमा सामेल हुने स्थितिमा मन्त्रालय संख्या ७ बाट बढाएर ९ पुर्याउने रणनीतिमा छन्। 

मुख्यमन्त्री पाण्डे मात्र होईन, कांग्रेसका अन्य सांसदपनि दुःखमा साथ दिएका मनाङे, देवकोटा र राप्रपालाई छाड्न नहुने पक्षमा छन्। नाम नबताउने शर्तमा कांग्रेसकी एक सांसदले भनिन्, ‘दुःखमा साथ दिएकालाई छाड्ने कुरै हुँदैन। बरु मन्त्रालय थपेर एमालेलाई मनाउनुपर्छ। साथ दिएकालाई छाड्ने हो भने त हामीपनि चुप लागेर बसिन्न, विद्रोह नै गर्न पनि पछि पर्दैनौं।’ 

मुख्यमन्त्री र कांग्रेस सांसदहरुले यसरी दुःखमा साथ दिएकालाई छाड्न नहुने बताउनुको कारण वर्तमान सत्ता समीकरण लामो समय नगएमा आउनसक्ने संकटलाई हेरेर हो। किनकी वर्तमान सत्ता समीकरण लामो समय नटिके फेरी तिनै साना दल र स्वतन्त्र सांसदको साथ चाहिने बाध्यतालाई मध्यनजर गरेर यस्तो अडान राखिएको उनीहरु नै बताउने गर्छन्।

तर एमाले भने केन्द्रको स्पिरिट अनुसार यहाँपनि सत्ता साझेदारी हुनुपर्ने पक्षमा छ। प्रदेशमा साना दल र स्वतन्त्र सांसदबाहेकको कांग्रेस–एमाले मात्रैको सरकार हुनुपर्ने उसको भनाई छ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले मुख्यमन्त्री पाण्डेले सत्ता साझेदारीको मर्म बुझ्नुपर्ने बताए।  

उनले भने,‘दुई ठूला पार्टी मिल्नुपर्ने बाध्यताको मर्म मुख्यमन्त्री ज्यूले बुझ्नुपर्ने हुन्छ। होईन मेरो अहिलेपनि बहुमत नै छ भनेर पेलेर जाने पक्षमा हुनुहुन्छ भने त हाम्रो भन्नु केहि छैन।’ उनले वर्तमान सरकारमै २÷३ वटा मन्त्रालय लिएर एमाले नजाने प्रष्ट पारे। एनले भने,‘हामी सत्ता साझेदारी हुँदा जाने हो, अहिलेकै सरकारमा मिसिन जाने होईन।’

केन्द्रमा भर्खरैमात्र सत्ता समीकरण बनेर सरकार बनेकाले गण्डकीमा पनि केहि दिनमा मिल्ने उनको विश्वास छ। ‘शीर्ष नेतृत्वले नै गण्डकीको पनि टुंग्याउनुपर्छ। सायद केहि दिनमा यसबारे टुंगिएला पनि। त्यसपछि हामी दुई दल बसेर यहाँ टुंग्याउँछौं’–उनले भने।

प्रकाशित: १ श्रावण २०८१ १८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App